६ महिलालाई भारतमा लगेर बन्धक बनाउने दुईजना पक्राउ !
कुवेत, साउदी र इराक लगायतका देशमा राम्रो रोजगारीको मिलाई दिने प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका–१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका–९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाहलाई पक्राउ गरेको हो ।
उनीहरूले झापा, मोरङ र पर्बतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगञ्ज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्याएका थिए । त्यहाँ लगेर एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएको खुल्न आएको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो र शान्ति पुनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरूको उद्धार गरिएको थियो ।
उद्धार गरिएका ती महिलाहरूलाई असार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाएको ब्यूरोले जनाएको छ । साथै उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।