गाउँपालिकाको २५ लाख हिनामिना गर्ने लेखापालसहित चार जना पक्राउ !
गाउँपालिकाको २५ लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा रुकुमपहिचमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् । बिहीबार राति गाउँपालिकाको कार्यालयमा हिनामिना गरेको रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
लेखापाल केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको आरोपमा उनीसहित लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भिमसेनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिएका छन् ।
रातको समयमा गाउँपालिकाको कार्यालयमा बाहिरबाट ताला लगाई कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको छ ।