सुर्खेतमा ठुलो परिणाममा हिराजडित सुनका गहना बरामद !


सुर्खेतमा प्रहरीले ठुलो परिणाममा हिराजडित सुनका गहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार राति वीरेन्द्रनगर–३ मा एक जना स्थानीयको घरबाट गहना बरामद गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले सुनजस्तै देखिने गहनामा हिराजस्तो देखिने सामान जडान गरिएको भेटिएको बताए ।

परीक्षण हुन बाँकी रहेको उनले बताए । सुनजस्तै देखिन्छ, जडान गरिएको हिराजस्तो चिज पनि देखिन्छ,’ डिएसपी घर्तीले भने, ‘परीक्षण हुने बाँकी छ ।’ उनले जनप्रतिनिधिको रोहबरमा बरामद भएको गहना राखिएको जानकारी दिए ।

थप सुनसमेत लुकाइएको आशंकामा खोजी कार्य जारी भैरहेको उनले बताए । करिब ४ दिनअघि सुन ल्याइएको बारे प्रहरीलाई सूचना आएपछि डीएसपी रामप्रसाद घर्तीको कमान्डमा टोली परिचालन गरिएको थियो । ‘यो सुन सुर्खेत बाहिरबाट चोरी गरेर ल्याइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘पक्राउ गरिएको व्यक्तिले सबै कुरा नभनेकाले पनि यथार्थ खुल्न सकेको छैन ।’

सुन बरामद गर्न गएका डीएसपी घर्तीका अनुसार घरको हात धुने धाराको खाली स्पेसमा सुन लुकाइराखिएको अवस्थामा भेटिएको थियो । सुनारका भतिजालाई समेत पक्राउ गरी ल्याइएको उनले बताए । सुन नजोखेरै सिलबन्दी गरेर राखिएकोले कति छ भन्ने यकिन नभएको उनको भनाइ छ ।

सुन बरामद घटनाबारे जानकार एक स्थानीय भने पक्राउ परेका व्यक्ति र अन्य तीन जनाले नै सुन ल्याएको बताउँछन् । ‘प्रहरीले अहिले पनि ती व्यक्तिलाई सामान्य मतियारजस्तो व्यवहार गरी छाडेर घटनालाई मत्थर गर्ने प्रयास गरिरहेको छ,’ ती व्यक्तिले भने, ‘सुन कति परिमाणमा बरामद भयो भन्नेबारे स्पष्ट जवाफ नदिनुले पनि शंका उब्जाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?