सिड्नीमा २६ वर्षीय नेपाली युवतीमाथि पारिवारिक हिंसा, श्रीमानलाई २२ वटा अभियोग
अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा विभिन्न अपराधका घटना पनि सार्वजनिक हुन थालेका छन् । नेपाली संस्कार र संस्कृतिको असर पारिवारिक हिंसाका घटनामा चुपचाप रहने अवस्था अधिक छ । तर, हालै एक नेपाली युवकलाई पारिवारिक हिंसाको आरोपमा २२ वटा अभियोग लगाएर मुद्दा अदालतमा पुगेपछि आश्चर्यजनक तथ्यहरु सार्वजनिक भएका छन् । नेपालमा बुटवल घर भएका युवकले आफ्नी श्रीमतीलाई दाईजोको नाममा पीडा दिने मात्र होइन कुटपिट गर्ने र ज्यानै लिनेसम्मको धम्की दिएका अभियोगहरु प्रहरीले लगाएको छ । सिड्नीको बरउड स्थानीय अदालतमा निज युवाको मुद्दाको दुई पटक सुनवाई भइसकेको छ भने तीन दिन जेल परेर अहिले धरौटीमा रिहा भएको अवस्था छ । अर्को सुनवाई सन् २०२१ को जनवरी २९ मा तोकिएको छ ।
यस्तो भयो घटनाक्रम
रजीना (नाम परिवर्तित) बुटवलमा रजिष्टर्ड फर्मेसिष्ट थिइन् । उनको भेट अनलाईनमा सुरजसँग भयो । सुरज सिड्नीमा आईटी पढ्थे । करिब ६ महिना उनीहरुले मेसेन्जरमार्फत कुराकानी गरे । यसपछि परिवारको संलग्नतामा बिहेको कुरा अघि बढ्यो । यसलाई लभ प्लस एरेन्ज म्यारिज भन्न सकिने भयो । तर, ईंगेजमेन्टपछि परिवारको तर्फबाट दाईजोको लागि लिष्टसहित नै माग गरियो, यो यो सामान चाहिन्छ भनेर । लिष्ट अस्वभाविक भएपछि रजीनाले यस्तो दाईजो माग्नेसँग बिहे नगर्ने निर्णय गरिने । पछि सुरजले कुरा मिलाउँदै गए । दाईजोविना नै बिहे गर्ने सहमति बन्यो । अझ एक कदम अघि बढेर सुरजले बिहेको पैसा पनि बरु अनाथालयमा दिउँ भन्ने गर्दथ्यो । ६ महिनादेखिको सम्बन्ध र सुध्रिएको बोलीका कारण रजिनाले बिहे गर्ने निर्णय गरिन् । बिहे २०१९ को मार्चतिर भयो । डेढ महिनाजति बसेर सुरज अष्ट्रेलिया फर्कियो ।
नेपालमा बुटवल घर भएका युवकले आफ्नी श्रीमतीलाई दाईजोको नाममा पीडा दिने मात्र होइन कुटपिट गर्ने र ज्यानै लिनेसम्मको धम्की दिएका अभियोगहरु प्रहरीले लगाएको छ ।
यहाँ आइसकेपछि डिपेन्डेन्ट भिसा हाल्नुपर्नेमा रजिनालाई भिजिट भिसामै आउ भनेर कर गर्न थाल्यो सुरजले । भिसा पनि आयो । सिड्नीमा रजिनाको आफ्नै दाजु थिए । जब रजिना सिड्नी आइन् उनले आफ्नो फिल्डमा काम पाइनन् र महिना जति घरमै काम खोज्दै बस्नुपर्ने अवस्था भयो । तर, पछि भने रजिनाले आफ्नै फिल्डमा काम पाई अर्थात् फार्मेसिष्टका रुपमा । यहाँ आउँदा सुरजको व्यहोरा फरक देखियो । एकदमै पोसेसिभ कसैसँग कुरा गर्दा पनि शंका गर्ने, कुटपिट गर्ने मात्र होइन । आफ्नो अवस्थाका बारेमा घरमा भनेमा मारिदिनेसम्मको धम्की सुरजले दिन थाल्यो ।
बुटवलबाट सिड्नीको परिवेश अनि मायाका नाममा गरिने दुव्र्यवहार सहँदै उनको पाँच महिना बित्यो । अरुले हेर्दा एकदमै राम्रो व्यवहार देखाउने, माया देखाउने तर एक्लै हुनेबित्तिकै सताउने स्वभाव थियो सुरजको । सन् २०२० को जनवरीमा रजिनाको दाजुको छोरी भयो । नातिनी हेर्नका लागि रजिनाको बुबाआमा पनि सिड्नी आउनुभयो । परिवारका सबैजसो सदस्य सिड्नीमै भएको बेलामा उनलाई आफुमाथि भएको ज्यादतिबारे केही शेयर गर्ने आँट आयो र पहिलो पटक सुत्केरी भाउजुसँग रहँदा उनले आफ्नो कुरा भनिन् । सुरजनले रजिनालाई दाजु लगायत आफन्तलाई भेट्न जान पनि नदिने, शरीरमा कुटेका दागहरुमात्र होइन, एक पटक त चक्कु घाँटीमा राखेर तँलाई मारिदिन्छु भनेको, नेपालबाट सुरजनको परिवारका सदस्यहरुले पटक पटक दाईजो नल्याएको भनी दिएको तनाव सबै सतहमा आयो । यो कुरा बाहिर भनेमा भिसा क्यान्सिल गर्दिन्छु, नेपाल पठाईदिन्छु भनेर धम्क्याउने । परिवारको सदस्यरुलाई नै पनि सिध्याइदिन्छु भन्ने लगायतका कुरा सार्वजनिक भए । भाउजुमार्फत दाईले थाहा पाएपछि घटना प्रहरीकोमा पुग्यो । रजिनाको अवस्था यस्तो थियो कि उनले आफुलाई भएको दुव्र्यवहार, यातना र हिंसाको कुरा सुनाउनै सकिनन् । भक्कानिएर ति पल पनि सम्झन गाह्रो हुने अवस्थाका कारणले बयान लिन मात्रै एक साताको समय लाग्यो प्रहरीलाई । यसपछि प्रहरीले २२ वटा अभियोग निज सुरजविरुद्ध लगायो र मुद्दा अदालतमा पुग्यो ।
रजिनाको दाजुको भनाई
पीडित युवतीका दाई भन्छन्, “बहिनी सिड्नी आएपछि खुशी नै देखिन्थि । सबैलाई आफ्नै काम र परिवारको चटारो हुन्छ हामीले पनि खुशी नै छ भन्ने ठान्यौं । सातामा एकदिन भेट हुँदा यी केही संकेत पाउन सकेनौं । उसले पनि भनिनँ । जब जनवरीमा बुबाआमा सिड्नी आउनुभयो । त्यसपछि उसलाई अलिकति हिम्मत भएछ । बहिनीले भाउजुलाई सबै कुरा भनी । मैले थाहा पाउँदा मलाई कस्तो भयो होला ? केटाको परिवारपनि कस्तो भने मेरो बहिनीलाई अश्लिल गाली गरेको त मैले पनि फोनमा सुनेको छु । हामीले तपाईंको छोरालाई सम्झाइदिन पर्यो भन्दा, मारेको हैन अलिअलि कुटपिट त भइहाल्छ भनेको जस्तो गर्ने । सबै कुरा सुन्दा के लाग्यो भने यदि केहीदिन बहिनी यस्तै अवस्थामा रहनुपरेको भए हामीले शायद मुख देख्न पाउने थिएनौं कि ? यस्तोसम्म थियो अवस्था । डुअल पर्सनालिटी भएको मान्छे रहेछ सुरज । साईकोलोजिकल प्रब्लम छ कि जस्तो पनि लाग्यो । परदेशमा श्रीमान र श्रीमती नै एकअर्काको साथी हुन्छन् परिवार हुन्छन् अरु कोसँग सम्पर्क हुन्छ र ? तर जब दुईबीचनै यस्तो तनाव हुन्छ भने जिन्दगी त नर्क नै बनिहाल्छ नि । हामीले प्रहरीकोमा गएपछि लिगल एडको सहायता लियौं । घरेलु हिंसाका घटनामा विभिन्न संघसंस्थाले यस्तो सहयोग गर्दा रहेछन् । बहिनीको अवस्था अहिले सुधार भएको छ । पूरै परिवार साथमा छौं । तर, ढिला भएको भए शायद मैले मेरो बहिनीलाई नै गुमाउने थिएँ कि भन्ने सोच्दा अहिले पनि डर लाग्छ ।”
रजीनाको अवस्था यस्तो थियो कि उनले आफुलाई भएको दुव्र्यवहार, यातना र हिंसाको कुरा सुनाउनै सकिनन् । भक्कानिएर ति पल पनि सम्झन गाह्रो हुने अवस्थाका कारणले बयान लिन मात्रै एक साताको समय लाग्यो प्रहरीलाई ।
“अष्ट्रेलियामा आइसकेर पनि पुरातन सोच अनि हिंसा गर्ने व्यवहार साँच्चै दुःखद छ । जब हामी प्रहरीकोमा गयौं, त्यसले भाडामा लिएको घर बहिनीको नाममा अप्लाई गरेको रहेछ । यो पनि छोडेर साथमा भएको पैसा सबै लिएर सुरज गायब भयो । म थिएँ यहाँ त्यसैले त बहिनीको सहारा बन्न सकें सहयोग पुग्यो । तर, कोही नभएका कति चेलीहरु यस्तै पीडा सहेर बसिरहेका होलान् जस्तो लाग्यो । मेरो आग्रह छ कृपया अष्ट्रेलिया भन्दैमा कुरा नबुझीकन बिहे नगर्दिनुस् । बिहे नै भइसकेपछि पनि आफ्नो छोरा छोरी कुन अवस्थामा छन् कृपया फलोअप गरिदिनुस् । दिनदिनै नभए पनि नियमित सम्पर्क गर्नुस् । आफ्नो सन्तानमाथि हिंसा हुनुहुँदैन, दुव्र्यवहार हुनुहुँदैन भनिरहँदा अरुलाई हिंसा गर्न हुँदैन भनेर पनि आफ्ना सन्तानलाई सिकाइदिनुस् । मेरो भन्नु यत्ति हो ।”
**हामीले घटनाका विषयमा निज सुरजसँग र उसको बुटवलमा रहेको परिवारसँग सम्पर्कको कोसिस गरेपनि त्यो सफल हुन सकेन । घरेलु हिंसाको घटना भएकोले र अदालतमा प्रक्रिया अघि बढेका कारण हामीले पीडितसहित सबैको परिचय गोप्य राखेका छौं । सम्पादक