नेपालको झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा, के छ कानुनी व्यवस्था ?


नेपालको राष्ट्रिय झण्डा जलाइएको आपत्तिजनक भिडियो यूट्युवमा अपलोड भएको छ । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट भदौँ १ गते अपलोड भएको हो । उक्त भिडियोको दृश्यमा नेपालको झण्डा जलाइएको देखिन्छ ।

यूट्युवमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट सार्वजनिक भएको उक्त गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ । गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरीएको छ । यस्तै ढाका टोपीलाई पनि भन्नै नसकिने अपमानजनक शब्दको प्रयोग भएको छ । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

कारबाहीको माग
नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको उक्त गीत युट्युवमा अपलोड भएलगत्तै सामाजिक सञ्जालमा आलोचित भएको छ ।

यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा यससम्बन्धी व्यवस्था छ । मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ ।

संहिताको १५१ मा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?