वेस्ट बंगालमा अक्टोबर १ देखि फिल्महलहरू खुल्ने
एजेन्सी । भारतको पूर्वी राज्य वेस्ट बंगालमा अक्टोबर १ तारिखदेखि फिल्महलहरू खुल्ने भएका छन् । शनिबार वेस्ट बंगालका मुख्यमन्त्री ममता बनर्जीले अक्टोबर १ देखि फिल्महलहरू खुल्न अनुमति दिने बताएकी हुन् ।
तर, फिल्महलमा सिमित संख्यामा मात्रै दर्शक प्रवेश गराउनु पर्ने नियम भने बाध्यकारी बनाइने बताइएको छ ।
मुख्यमन्त्री बनर्जी अर्को महिनादेखि फिल्महल लयागत जादु तथा सांगितिक कार्यक्रम गर्न पनि अनुमति दिइने उल्लेख गरेकी छन् ।
उनले ट्वीटरमा यसबारे जानकारी दिँदै लेखेकी छन्, ‘सामान्य अवस्थामा फर्किन अक्टोबर १ देखि नाटक घर, फिल्महल, ओएटी तथा सांगितिक कार्यहरू पुनः सञ्चालन गर्नुपर्छ । यसका लागि ५० प्रतिशत क्षमतामा मात्रै दर्शक उपस्थित गराउने तथा मास्क लगाउने र भाैतिक दूरीको नियम अवलम्बन गर्नुपर्छ ।’
भारतमा कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि मार्च अन्तिमदेखि लकडाउन गरिएको थियो । सोही बेलादेखि भारतका फिल्महलहरू पूर्ण रूपमा बन्द छन् ।
भारतमा कोरोना संक्रमणको दर दिनदिनै बढिरहँदा भारत भने निरन्तर सामान्य स्थितिमा फर्किन प्रयासरत छ । भारतमा कोरोना भाइरसका कारण ९० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
त्यसैगरी वेस्ट बंगालमा मात्रै १ लाख १६ हजारभन्दा बढीमा कोरोना संक्रमण हुँदा २ हजार ४ सय २८ जनाको मृत्यु भइसकेको छ ।