दिल्ली आईपीएलको शीर्ष स्थानमा,कलकत्ताको तेस्रो हार !


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । इयान मोर्गन ४४, राहुल त्रिपाठी ३६, शुबमन गिल २८, आन्द्रे रसेल १३ र कप्तान दिनेश कार्तिक ६ रनमै समेटिए । दिल्लीका एन्रीच नोर्ट्जेले ३ र हर्सल पटेलले २ विकेट हात पारे । अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले एकएक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस अयर र पृथ्वी शाले अर्धशतकीय इनिङ्स खेले ।

कप्तान श्रेयसले ३८ बलमा ८८ रन बनाए । पृथ्वीले ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए भने भरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट हात पारे ।

जितसँगै ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपाली स्पिनर सन्दीप भने टिममा परेका छैनन् । यो सिजनको चौंथो खेलमा समेत उनी बेन्चमै छन् ।कोलकत्ताले भने ४ खेलमा ४ अंक जोडेको छ । कलकत्ताको यो तेस्रो हार हो । कोलकत्ता अंक तालिकाको पाँचौं स्थानमा छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?