रोनाल्डोमाथि लागेको बलात्कार आरोपको पुनः अनुसन्धान हुने
एजेन्सी । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डकोमाथि लागेको बलात्कारको मुद्दामाथि पुनः अनुसन्धान अमेरिकामा सुरू हुने भएको छ । १० वर्षअघि रोनाल्डोले बलात्कार गरेको भन्दै एक जना महिलाले रोनाल्डो विरूद्ध मुद्दा दायर गरेकी थिइन् ।
मुद्दाको पुनर्विचार तथा थप अनुसन्धान कहिले हुने भन्ने मिति भने तय गरिएको छैन । जिल्ला अदालतकी वकिल जेनिफर डोर्सेका अनुसार २०१० मा पीडित भनिएकी क्याथरिन मायोर्गा मानसिक रूपमा स्वस्थ रहेकी थिइन् कि थिइनन् भन्नेबारे अनुसन्धान गर्ने बताएकी छिन् ।
क्याथरिनले रोनाल्डोले बलात्कारको कुरा गोप्य राख्न पैसा दिएको पहिले नै अारोप लगाएकी थिइन् । क्याथरिनका अनुसार २०१० मा रोनाल्डोका प्रतिनिधिले उनलाई ३ लाख ७५ हजार डलर दिएका थिए ।
तर, रोनाल्डोका वकिलले मंगलबार नै यो आरोपको खण्डन गरेका छन् । अमेरिकी वकिलहरूले रोनाल्डो घटना लुकाउने काममा संलग्न भएको आरोप लगाएका छन् ।
रोनाल्डोका वकिलले रोनाल्डोमाथि लागेको यो आरोप रोक्न माग गरेका छन् ।
प्रथमतः रोनाल्डोलाई बलात्कारको आरोप लगाउने महिलाको मानसिक अवस्था जाँच गरिने अधिवक्ता डोर्सेले एक विज्ञप्तीमार्फत जनाएकी छिन् । यो विषयमा तत्काल रोनाल्डो र क्याथरिन अदालतमा उपस्थित हुनु नपर्ने पनि बताइएको छ ।