आईपीएलमा कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा !
काठमाडौँ । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।
युएईस्थित शेख जायद क्रिकेट स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमै भेटेको हो । मध्यम लक्ष्यका लागि मुम्बईका क्विनटन डी ककले अविजित ७८ रनको शानदार इनिङ्स खेलेका थिए । मुम्बईका लागि कप्तान रोहित शर्मा ३५, सूर्यकुमार यादबले १० रन बनाए भने हार्दिक पाण्डयले २१ रन जोडेका थिए ।
कोलकत्ताका भरुण चक्रवर्ती र शिवम नाभीले १–१ विकेट लिए । पहिलो ब्याटिङ गरेको कोलकत्ताको लागि पाट कुमिन्सले ५३ रनको अर्धतकीय इनिङ खेलेका थिए । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे । सुबमन गिलले २१ रन जोडे भने आन्द्रे रसेल १२ रनमा समेटिए ।
मुम्बईका लागि राहुल चाहर २, ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १र१ विकेट हात पारे । यो जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । आठ खेलमा मुम्बईले दुई हार र ६ जित निकालेको छ । दिल्ली र मुम्बईको १२ १२ अंक भए पनि रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा छ ।