आईपीएलमा हैदराबादसँग राजस्थान ८ विकेटले पराजित !
काठमाडौँ । यूएईमा जारी आईपीएल क्रिकेटमा राजस्थान रोयल्सलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । हैदराबादको जितमा मनिष पान्डे ४७ बलमा ४ चौका र ८ छक्कासहित ८३ रनमा अविजित रहे । विजय शंकर ५१ बलमा ६ चौकासहित ५२ रन बनाए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ बनाएको थियो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो ।
राजस्थानले अब आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । त्यसैगरी हैदराबादले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भए पनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।