आईपीएलमा चेन्नईसँग बैंगलोर ८ विकेटले पराजित !
काठमाडौँ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबारको पहिलो खेलमा चेन्नई सुपर किङ्सले जीत हात पारेको छ । चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो ।
बैंगलोरले दिएको १४६ रनको मध्यम लक्ष्य चेन्नईले ८ बल बाँकी छँदै २ विकेटको क्षतिमा पूरा गरेको थियो । ओपनर रुतुराज गायक्वाडले अविजित ६५ रन बनाउँदा अम्बाती रायुडुले ३९ र फाफ डुप्लेसीले २५ रन बनाए । बैंगलोरका क्रिस मोरिस र युजुभेन्द्र चहलले १–१ विकेट लिए ।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । कप्तान विराट कोहलीले ५० र एबी डिभिलयर्सले ३९ रनको योगदान दिए ।
चेन्नईका साम करानले ३, दीपक चहरले २ र मिचेल सान्टनरले १ विकेट हात पारेका थिए । जीतसँगै १२ खेलबाट ८ अंक बटुलेको चेन्नई अंकतालिकाको सातौं स्थानमा रहेको छ भने पराजित बैंगलोर १४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।