ड्रग्स केसमा गिरफ्तार भारती सिंह र उनका श्रीमान जमानतमा छुटे !


एजेन्सी । घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका छन् । घरमा ८६.५ ग्राम गाँजा भेटिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार उनीहरूलाई मुम्बईस्थित घरबाटै पक्राउ गरेको थियो । एनसीबीका अधिकारीहरुका अनुसार भारती र उनका श्रीमानले गाँजा सेवन गर्ने स्वीकार गरेका छन् ।

कोर्टले आईतवार उनीहरुलाई ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ । एनसीबीले आईतवार भारतीलाई ज्यूडिशियल कस्टडी र हर्षलाई रिमाण्ड मागेको थियो । तर कोर्टले दुबैलाई न्यायिक हिरासतमा पठाएको थियो ।

भारतीको जोडीले अदालतमा जमानत याचिका दाखिल गरेका थिए । त्यही याचिका माथि सुनुवाइ गर्दै अदालतले जमानतमा छाड्ने आदेश दिएको हो । सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड उद्योगमा लागूपदार्थ सेवनको रहस्य खुल्दै गइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?