ज्यान विदेशमा, मन नेपालमा


जहाँ जन्म्यो र हुक्र्यो, मानिसको अनुरागपूर्ण र अमिट पहिचान त्यहीँ बन्छ । मानिसको प्रारम्भिक मोरचनाको स्वरुप त्यहीँ बन्छ, उसको व्यक्तित्वको प्रारुप त्यहीँ बन्छ । मानिस र पहिलो पटक उसले स्पर्श गरेको, चलेको र खेलेको ठाउँको दोहोरो नाता हुन्छ । त्यो ठाउँले मानिस चिनिन्छ, मानिसले त्यो ठाउँलाई चिनाउँछ । नाम मानिसहरुको गोलोमाझ मानिसको पृथक् चिनारी बनाउने माध्यम हो । र भाषा हो, मानिसलाई जीवन र जगत्सित जोड्ने जादुगरी सूत्र । भाषामा खास ठाउँको प्रकृतिको रुप र रङ्ग एवं ध्वनि र गतिको प्रत्यक्ष छाप हुन्छ । ठाउँसँग नाम र भाषाको अभिन्न नाता हुन्छ । नाम र भाषामा सभ्यता र संस्कृतिका विशिष्टाताहरु जेलिएर आउँछन् । जहाँ जन्म्यो, मानिसले त्यहीँको हावामा सास फेर्छ र त्यहीँको पानी खान्छ । मानिस त्यहीँको धूलोमा बामे सर्छ र त्यहीको धूलोमा टुकुटुकु हिँड्छ । मानिस त्यहीँका इन्द्रेनी र पुतली हेरेर आनन्दित हुन्छ । मानिस त्यहीँको चट्याङले तर्सिन्छ, त्यहीँको वर्षाले भिज्छ । मानिस त्यहीँको जाडोमा स्यूस्यू काम्छ, त्यहीँको गर्मीमा तर्तरी पसिना काड्छ । मानिस त्यहीँ श्रम गर्छ, त्यहीँ उत्पादन गर्छ, त्यहीँ सिर्जना गर्छ । मानिस त्यहीँ आमाको मायालु बोलीमा कलिलो लोली गाउँछ, त्यहीँ मायापिर्ती लाउँछ, त्यहीँ सन्तान जन्माउँछ । मानिस हर दृष्टिले त्यहीँको मौसममा अभ्यस्त हुन्छ र ऊ त्यहीँको भौतिक एवं सास्कृतिक वातावरणको एक अभिन्न अङ्ग बन्छ ।

ठाउँ विशेषका सांस्कृतिक परम्परामा मानिसको दिनचर्याका अभिन्न अङ्गतुल्य रीति र रुढिहरु हुन्छन्, कर्मकाण्ड र संस्कारहरु हुन्छन् । यी याबत् कुराले— नामले र भाषाले, प्रकृति र परम्पराले, रीति र रुढिले, कर्मकाण्ड र संस्कारले— मानिसको मस्तिष्कमा विराट् स्मृति–शृङ्खलाको निर्माण गर्छ । मेरो विचारमा मानिसको जीवन भन्नु नै यहीँ स्मृति–शृङ्खलाको अर्को नाम त हो । मानिस जहाँसुकै जाओस्, ऊ यो स्मृति–शृङ्खलाको चाङ बोकेरै जान्छ । कसैले मलाई सोधोस्— तेरो घर कहाँ हो ? मेरो घर काठमाडौँको चाबेल हो भन्न मेरो मुख लाग्दैन । मेरो स्मृति–शृङ्खला भन्छ— मेरो घर पाँचथर जिल्लाको सुभाङ, गुरुङछाप हो । गम्नोस्त, ठाउँविशेषले बनाउने मानिसको पहिचान कति प्रबल र चिरस्थायी हुन्छ ?

रहरले वा बाध्यताले वा संयोगले ऊ बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडा पुग्यो । जब त्यहाँ पुग्यो, ऊ नचिताएको भवसागरमा फँस्यो । अब उतै बसिरहुँ, उसलाई मनमा चैन छैन । नेपाल फर्किऊँ, फर्किने बाटै छैन ।

मानिसको ठाउँसँगको सम्मोहक नाताबारे मैले उतिसाह्रो गम्भीर रुपले कहिल्यै सोचेको थिइनँ । खासमा सोच्नुपर्ने खण्डखातिर मलाई आइलागेको पनि थिएन । बेलायत र अमेरिकामा नेपालीहरुलाई जब भेटेँ, जीवनले जरा गाडेको ठाउँसँग मानिसको कति गहिरो नाता हुँदो रहेछ, मलाई बल्ल थाहा भयो । जो जीवनभरिका आफ्ना पदचापबाट निर्मित स्मृति–शृङ्खला बोकेर त्यता गएको छ, ऊ विभाजित मन लिएर जिउँदो रहेछ । ऊ पल–प्रतिपल मानसिक अन्तद्र्वन्द्वले आक्रान्त जीवन जिउँदो रहेछ । उसका खुट्टा छन् बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडामा, मन छ नेपालमा । उसले देखेको, सुनेको, गरेको, जानेको, चिनेको र भोगेको जे जे हो, त्यो सब नेपालमा छ । उसका परिचित चौतारी र देउराली नेपालमा छन् । उसका आफन्त र कुलकुटुम्ब नेपालमा छन् । उसका चाडपर्व र जात्रामेला नेपालमा छन् । उसका घाट र समाधिस्थल नेपालमा छन् । उसका मायापिर्तीका, मिलन वा बिछोडका, कथा र किस्सा नेपालमा छन् । उसले जानेको भाषा र हिँडेको भूगोलका गोरेटा नेपालमा छन् । यसको अर्थ हो, उसको सर्वस्व नेपालमा छ । बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडामा उसको के छ त ? बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडामा केवल उसका खुट्टा छन् । र, उसको चित्तमा अन्तहीन अन्तद्र्वन्द्वको कष्टकर आँधी उठेको छ । रहरले वा बाध्यताले वा संयोगले ऊ बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडा पुग्यो । जब त्यहाँ पुग्यो, ऊ नचिताएको भवसागरमा फँस्यो । अब उतै बसिरहुँ, उसलाई मनमा चैन छैन । नेपाल फर्किऊँ, फर्किने बाटै छैन ।

बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडा पढ्न गएका विद्यार्थीहरुको मनोदशाको चित्रण यो होइन । विद्यार्थी त पढिसकेर मन लागे अलि वर्ष त्यतै काम गर्लान्, मन नलागे स्वदेश फर्की आउलान् । आउनलाई तिनको बाटो बन्द छैन । यसो देश हेरुँ, मुख फेरुँ, दुई–चार पैसा कमाऊँ, त्यसपछि देखाजाएला भन्ने पेशाकर्मीको मनोदशाको चर्चा पनि यो होइन । ती पनि मन लागे त्यतै बस्लान्, मन नलागे घर फर्कलान् । फर्की आउनलाई तिनको पनि बाटो बन्द छैन । तर जो रहरले, वाध्यताले वा लहडले जोभएको जायजेथो बेचेर, झिटीगुन्टा कसेर त्यता गएका छन्, तिनको भग्न मनोदशाको चित्रण हो यो ।

किशोर वा तरुण बयका मानिसहरु नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मौसम, नयाँ भाषा, नयाँ वेषभूषा, नयाँ भोजन र नयाँ चाडपर्वमा रिझ्नभिज्न बेर लाग्दैन । ती यी नानाओली नयाँमा छिटै र सहजै अभ्यस्त हुन सक्छन् । तर मैले चर्चा गरेका मानिसहरु, जो उमेरमा अध्बैँसे भइसके, तिनलाई बडो गाह्रो छ । उमेरका कारण तिनमा यी नयाँहरुमा सहजै ढलान वा अनुकूलित हुने लचकता हुँदैन । जतिसुकै यत्न गरुन्, तिनले रैथाने जनले झैं रैथाने भाषा बोल्न जान्दैनन् । किशोर र तरुणका स्मृति–शृङ्खला समयको क्रममा सहजै मेटिन वा विस्मृत हुन सक्छन् । अध्बैँसेको हकमा यो कदापि सम्भव छैन । बरु प्राण जाला, तिनको स्मृति–शृङ्खला न मेटिन्छ, न त्यो विस्मृत नै हुन्छ । त्यसैले आफू जन्मी–हुर्केको देश र संस्कृतिको न्यास्रो मान्दै बिरानो देशमा बेचैनीसाथ बाँकी जीवन बिताउन ती अभिशप्त छन् ।

यो दुःखी नेपाली आफैं आफ्नो दुःखमाथि दुःख थप्छ । यो अतिशय भावुकतायुक्त अन्धराष्ट्रवादबाट पैदा हुने दुःख हो । नालापानी यही दुःखीका चित्तमा दुख्छ, कालापानी यही दुःखीका चित्तमा दुख्छ । ‘अहा मेरो बुद्ध, अहा मेरो सगरमाथा’ भन्दै यो दुःखी रुन खोज्छ । यो भावुकता र यो रोइलो मलाई एकदमै विरोधाभाषी लाग्छ ।

कुनै जुक्तिले स्वदेश फर्किने सम्भावनाको द्वार खुले पनि यी अध्बैँसे जन सन्तान र तिनको भविष्यका कारण मरिगए फर्किन सक्दैनन् । सानैमा लिएर गएका सन्तान भए ती नयाँ भाषा र संस्कृतिमा रमिसके होलान् । उतै जन्मेका भए ती त हर दृष्टिले उतैका भइहाले । चैनले होस् वा बेचैनीले, सुखले होस् वा दुःखले, सन्तानको भविष्यको लागि बाँकी जीवन चुपचाप अर्पण गर्नु सिबाय यी अध्बैँसेसँग उपाय केही छैन । बडो असहज जीवन, हकि !

चाडपर्व आउँछ र त्यसले स्वदेश सम्झाउँछ । जात्रा–मेला आउँछ र त्यसले स्वदेश सम्झाउँछ । पितृको श्राद्ध गर्ने तिथि आउँछ र त्यसले स्वदेश सम्झाउँछ । जीवनको कुनै अविस्मरणीय घटनाको याद आउँछ र त्यसले स्वदेशको न्यास्रो लगाउँछ । लाएको प्रेमिल मित, खाएको मीठो भोजन र गाएको सुन्दर गीतको याद आउँछ र स्वदेशको सम्झना बल्झिन्छ । ज्यान बिरानो देशमा, स्वदेशको सम्झना झल्झली आँखामा !

विदेशमा पुगेर फर्किने बाटो हराएको यो दुःखी नेपाली आफैं आफ्नो दुःखमाथि दुःख थप्छ । यो अतिशय भावुकतायुक्त अन्धराष्ट्रवादबाट पैदा हुने दुःख हो । नालापानी यही दुःखीका चित्तमा दुख्छ, कालापानी यही दुःखीका चित्तमा दुख्छ । ‘अहा मेरो बुद्ध, अहा मेरो सगरमाथा’ भन्दै यो दुःखी रुन खोज्छ । यो भावुकता र यो रोइलो मलाई एकदमै विरोधाभाषी लाग्छ । म अब विदेशमै जीवन बिताउँछु भनी अठोट गरेर गइसकेपछि भुवामय भावुकतामा बहकिँदै किन यसरी रुनु ? मुटु गाँठो पारेर गनुपर्ने त अप्रिय नियतिसँग सम्झौता पो हो । मलाई थाहा छ, मेरो यो विचार यस्ता थुप्रै दुःखीहरुलाई मन पर्दैन । तर जीवनको कठोर वास्तविकता आखिर यही त हो !

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?