नागरिकमाथि बेइमानी कहिलेसम्म ?
विश्वमा कोरोना भाइरसको महामारी सुरु भएको १ वर्ष पुगेको छ । सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनमा पहिचान गरिएको यो भाइरस अहिले विश्वका सबै देशमा फैलिइसकेको छ । यो भाइरसले विश्वभर ८ करोड २८ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १८ लाखभन्दा बढीको मृत्यु भएको छ । नेपालमा पनि २ लाख ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने १ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । संक्रमण नियन्त्रणमा लिन सुरुदेखि नै गरिएका विश्वव्यापी प्रयास सार्थक बन्न सकेका छैनन् । संक्रमण नियन्त्रणका लागि अहिले पनि प्रयास जारी छन् । तर आशादित सफलता हासिल हुन सकेको छैन ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीबाट जोगिन तीन वटा मुख्य उपाय सुझाएको छ । सबैले सही तवरले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र पटकपटक हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने गरे संक्रमणको जोखिम कम गर्न सकिने उपाय विश्व स्वास्थ्य संगठनले दिएको छ । यी तीन वटा सुझावको पालना गर्न सकिएका ठाउँमा संक्रमण तीव्र गतिमा फैलिन पाएको छैन । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जनस्वास्थ्यका मापदण्डमा यी तीन वटा विषयलाई राखेको छ । जनस्वास्थ्यका मापदण्ड पालनालाई अनिवार्य गर्न मन्त्रालयले भनेको छ । यसका लागि मन्त्रालयले मात्र नभई सरोकारवाला निकायहरुले पनि जनसचेतनाका कार्यक्रम अघि बढाउँदै आएका छन् ।
कोरोना संक्रमण भीडभाड हुने ठाउँमा तीव्र गतिमा फैलिने अनुसन्धानहरुले देखाएका छन् । भीडभाड भएका ठाउँमा कुनै एक जना संक्रमित व्यक्ति गएमा र उसले जनस्वास्थ्यका मापदण्डको पालना नगरेमा आसपासका धेरै मानिसलाई संक्रमण सर्न सक्छ । स्वासप्रश्वासका माध्यमबाट सर्ने कोरोना भाइरस संक्रमितले खोक्दा वा हाच्छ्युँ गर्दा अर्को व्यक्तिको नाक वा मुखमा परेमा सहजै सर्न सक्छ । त्यही भएर भीडभाड हुने ठाउँमा जोखिम बढी हुने भएकाले त्यस्ता ठाउँमा नजान विज्ञहरुले सुझाव दिने गरेका छन् । तर नेपालमा पछिल्ला दिनमा दिनदिनै जसो प्रदर्शन, जुलुस, गोष्ठी, सभालगायत भीडभाड हुने गतिविधि तीव्र रुपमा बढेका छन् । अझ प्रतिनिधिसभा विघटन गरिएपछि त ठाउँठाउँमा विरोध प्रदर्शनहरु पनि भइरहेका छन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न आमनागरिक सचेत हुनुपर्छ । नागरिकलाई सचेत गराउने दायित्व सरकारको त छँदैछ, जनप्रतिनिधि, राजनीतिक दल, दलका भ्रातृ/भगिनी संगठन, सामाजिक संघसंस्था, नागरिक अगुवा, अधिकारकर्मीको पनि उत्तिकै हुन्छ । तर अहिले कोरोनाप्रतिको बेवास्ता बढ्दै गएको छ । २ लाख ६० हजारभन्दा बढी व्यक्ति संक्रमित हुँदा र १ हजार ८ सयभन्दा बढीको मृत्यु हुँदा पनि नागरिकमा सचेतनाको कमी भएको देखिन्छ । कोरोना केही होइन भन्ने मानसिकता केही मानिसमा देखिने गरेकोमा त्यसलाई चिर्ने काम सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजलगायतको हो । तर, अहिले नागरिकलाई सचेत बनाउने दायित्व बोकेकाहरुले नै कोरोनाप्रति वेवास्ता गरिरहेको देखिन्छ । दिनदिनै अगुवाहरु वा समाजका बुज्रुक भनिएकाहरु नै भीडभाड र हुलहुज्जत गर्न अग्रसर भइरहेका छन् ।
नागरिकलाई सचेत गराउने दायित्व सरकारको भए पनि त्यसमा जनप्रतिनिधि र राजनीतिक दलको मुख्य भूमिका रहन्छ । अहिले कोरोनाको कहरकै बीच जनप्रतिनिधि र राजनीतिक दलहरु नै आन्दोलनमा होमिएका छन्, भीडभाडमा सहभागी भएका छन् । जनतालाई सडकमा उतार्न आतुर देखिएका छन् । एक पटक बिरामी परे औषधि उपचारसमेत गर्न नसक्ने र उपचार नै नपाएर मर्नुपर्ने अवस्थामा रहेका जनतालाई सडकमा हुलहुज्जत गर्न आह्वान गर्नुले राजनीतिक दल र जनप्रतिनिधिहरुप्रति अतिकलि पनि संवेदना छैन भन्ने देखिन्छ । यो फगत नागरिक माथिको बेइमानी मात्र हो । कोरोना महामारीका बेला सकेसम्म घरभित्रै बस र अत्यावश्यक कामका लागि मात्र बाहिर आऊ भन्दै घरघरमा पुगेर सम्झाउनुपर्ने जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु अहिले घरघरमै पुगेर सडकमा आउन आह्वान गर्नु दुःखद् पक्ष हो । घनावस्ती भएका शहरमा कोरोनाको जोखिम अझ बढी भएको अवस्थामा गाउँगाउँबाट समेत मानिस ल्याएर शहरमा प्रदर्शन गर्दा कोरोना महामारीलाई बढाउन दिन सहयोग पुग्ने देखिन्छ ।
विश्वकै सर्वशक्तिमान मानिएको र कुनै पनि रोगको उपचारमा अब्बल मानिँदै आएको अमेरिकाले पनि कोरोना महामारीबाट ठूलो क्षति बेहोर्नु परेको छ । सुरुआती दिनमा अमेरिकी सरकारले देखाएको उदासिनताकै कारण ठूलो क्षति भएकोमा दुई मत देखिँदैन । कोरोना केही होइन र यसलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने अमेरिकी सरकारको आत्मविश्वास त्यतिबेला मात्र डग्मगायो, तब धेरै जनताको अकालमै मृत्यु हुन थाल्यो । नागरिकले उपचार पाउन नसक्ने अवस्था सिर्जना भयो । विश्व स्वास्थ्य संगठनले पटकपटक दिएका सुझावको बेवास्ता गर्दै अमेरिकाले आफ्ना नियमित गतिविधि रोकेन । नागरिकलाई सचेत गराउनुको सट्टा खुलेआम मास्क नलगाई हिँड्न प्रेरित ग¥यो । यही बीचमा अमेरिकामा निर्वाचनसमेत भयो । निर्वाचनका बेला भएका भीडभाडकै कारण अहिले पनि अमेरिकामा संक्रमण उच्च दरमा वृद्धि हुँदै गएको छ । अमेरिकामा मात्रै हालसम्म १ करोड ९३ लाखमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ३५ हजारको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्या बढेको बढ्ढै छ ।
छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण कम भएको छैन । भारतमा हालसम्म १ करोडभन्दा बढीमा संक्रमण भएको छ भने १ लाख ४८ हजारभन्दा बढीको मृत्यु नै भइसकेको छ । कोरोना संक्रमणकै बीच भारतमा चुनावसमेत भएको छ । यसले पनि त्यहाँ कोरोना संक्रमण बढाउन सहयोग पुगेको देखिएको छ । युरोपेली मुलुकहरुमा विगतमा गरिएको लकडाउनका क्रममा कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको भए पनि विस्तारै लकडाउन खुकुलो बनाउँदै मानवीय गतिविधि बढ्दा पुनः संक्रमण बढेको थियो । यसले के देखाउँछ भने भीडभाड हुने गतिविधि गर्ने वित्तिकै कोरोना संक्रमण बढ्ने गर्दछ । अहिले नेपालमा संक्रमण दर कम भइरहेका बेला हुन थालेका भीडभाडजन्य गतिविधिले संक्रमण बढाउन सहयोग पुग्ने देखिन्छ ।
एक पटक बिरामी परे औषधि उपचारसमेत गर्न नसक्ने र उपचार नै नपाएर मर्नुपर्ने अवस्थामा रहेका नागरिकलाई सडकमा हुलहुज्जत गर्न आह्वान गर्नुले राजनीतिक दल र जनप्रतिनिधिहरुप्रति अतिकलि पनि संवेदना छैन भन्ने देखिन्छ । यो फगत नागरिक माथिको बेइमानी मात्र हो ।
नेपालमा अहिले काठमाडौं उपत्यकाबाहेकका जिल्लामा कोरोना संक्रमण निकै कम भइसकेको छ । उपत्यकाका पनि केही निश्चित ठाउँमा मात्र बढी संक्रमित भेटिने गरेका छन् । तर, अहिले काठमाडौंमा दिनदिनै धेरै मानिस जमघट गराएर प्रदर्शन गर्ने होडबाजी देखिएको छ । त्यसको अगुवाई राजनीतिक दलका शीर्ष नेताहरुले नै गर्ने गरेका छन् । काठमाडौंमा मात्र होइन, बाहिरी जिल्लामा पनि त्यस्तै गतिविधि बढेका छन् । प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने माग गर्दै सुरु भएका विरोध प्रदर्शन र नाराबाजीको अहिले कुनै औचित्य देखिँदैन । लोकतान्त्रिक मुलुकमा सरकारले गल्ती गरेरै प्रतिनिधिसभा विघटन गरेको हो भने पनि त्यसलाई सच्याउने ठाउँ बाँकी छ । यो विवाद अहिले न्यायालयमा पुगेको छ । सर्वोच्च अदालतले विवादको सुनुवाई गर्दै छ । त्यसका लागि पुस २२ गतेदेखि निरन्तर यो विवादको सुनुवाई गरेर चाँडै टुंगो लगाउने तयारी सर्वोच्चले गरेको छ । सर्वोच्च अदालतमा विचाराधीन विषयलाई लिएर दबाबको रणनीति अख्तियार गर्ने राजनीतिक दल र नेताहरुले केही समय धैर्य गर्नसमेत सकेको देखिँदैन । यस्ता गतिविधि गर्दा स्वतन्त्र न्यायालयलाई प्रभावित पार्न सकिने विश्वास नेताहरुमा देखिन्छ । तर, न्यायालयलाई प्रभावित पार्ने र आफ्नो दुनो सोझ्याउने लोभमा नागरिकलाई दाउमा राख्ने काम कसैले गर्नु हुँदैन ।
आफ्ना विचार र भनाई आमनागरिक समक्ष पु¥याउने माध्यम सडकलाई नै बनाउने प्रवृत्तिमा सुधार गर्नुपर्ने देखिन्छ । अहिले २१ औं शताब्दीमा आएर पनि सडकलाई प्रचार गर्ने थलो बनाउनुको सट्टा सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजनलगायतको उपयोग गर्न सकिन्छ । प्रविधिको प्रयोग गरी डिजिटल माध्यमबाट आफ्ना विचार सहजै प्रवाह गर्न सकिने ठाउँ हुँदाहुँदै राजनीतिक दलहरु किन कोरोनाको महामारीकै बीच सडकलाई तताउँदै छन् त भन्ने बुझ्न जरुरी छ । राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुको व्यवहार हेर्दा लाग्छ उनीहरुलाई आमनागरिक र मुलुकको भविष्यप्रति कुनै चिन्ता छैन । छ त केबल सत्ता, शक्ति र सम्पत्तिको मात्र चिन्ता देखिन्छ । उनीहरुले आफ्नो हितका लागि नागरिकलाई जोखिममा पार्ने काम गर्न उद्दत गरिरहेका छन् ।
नागरिकलाई जोखिममा पारेर आफ्नो मात्रै फाइदा हेर्ने प्रवृत्तिको सुधार गर्नुपर्छ । अहिलेको कठिन समयमा नागरिकलाई जबरजस्ती सडकमा ओरालेर राजनीतिको घृणित खेल खेल्न छाड्नुपर्छ ।
नागरिकलाई कोरोनाको जोखिममा पु¥याएर सत्ता र शक्तिको खेलमा लाग्ने बेला यो होइन । शान्तिपूर्ण रुपमा आफ्ना भनाइ र विचार राख्ने ठाउँको प्रयोग गर्नुपर्छ । दर्जनौं संख्यामा रहेका टेलिभिजनका माध्यमबाट विचार प्रकट गर्न सकिन्छ । अधिकांश नागरिकको हातमा सूचना प्रविधिको पहुँच पुगेको अवस्थामा त्यस्ता माध्यमको प्रयोग गर्न सकिन्छ । सडकमा भीड देखाएर मात्र शक्ति मापन हुँदैन । आफ्ना विचारलाई सशक्त बनाउँदै ती विचार नागरिकका माझमा पु¥याउन सडकको विकल्प खोज्न सकिन्छ । विचारविहीन हुँदै उत्तेजित भाषण मात्र गरेर अब कसैले पत्याउनेवाला छैनन् । सचेत नागरिकलाई आफ्ना एजेन्डा प्रस्तुत गर्ने अनेकौं माध्यम हुँदाहुँदै जोखिमपूर्ण रुपमा चिसो सडकमा उतारेर गरिएको बेइमानीको मूल्य कुनै समयमा आफैंले तिर्नुपर्छ भन्ने हेक्का सबैले राख्नुपर्छ ।।