कोही कसैका आग्रहको भरिया किन होस् ?
केही वर्षअघि कवि शैलेन्द्र साकारको एउटा संस्मरण पढेको थिएँ । त्यो संस्मरणले नबिर्सिइन जिद्दी गर्दै मलाई रातदिन पछ्याइरहेछ । त्यो हृदयविदारक संस्मरणको पेटव्यहोरामा अमेरिकामा आत्महत्या गरेको सारकारको छोरो छ । साकारको छोरो राम्रो जागिरमा थियो । उसले स्वास्थ्य विमाको सुविधा समेत आर्जन गरिसकेको थियो । तर डिप्रेसको विमारसामु उसको स्वास्थ विमाले हार खायो । र, साकारपुत्रले जीवनदेखि वाक्क भएर चरम् हताश मनोदशामा आफ्नै हातले गोली ठोकेर आफ्नो ज्यान लिए ।
साकारको आँसुले लेखिएको संस्मरणमा अमेरिकामा छोरालाई भेट्दाका सुखद् यादहरुको सुन्दर चित्र एकातिर छ, छोराले आत्महत्या गरेपछिका विह्वल बाबुका मनोदशाको दारुण चित्र अर्कातिर छ ।
संस्मरण भन्छ— छोराले जीवन बिसाएको आठ–दश वर्षपछि होला सायद, शैलेन्द्र साकार बुहारी र नातिनीहरुलाई भेट्न अमेरिका गए । नेपाली बाजेलाई स्वागत गर्न एयरपोर्टमा दुई अमेरिकी नातिनी आएका थिए । अघिल्लो भेटमा ती नातिनीहरु किशोरी थिए, अहिले ती तरुनी भइसकेका थिए । अघिल्लो भेटमा बाजेसँग तिनले नेपालीमा फाटफुट बात मारेका थिए । यो बीचको लामो अन्तरालमा तिनले नेपाली भाषा बोल्न छाडेर भुसुक्कै बिर्सेछन् । एयरपोर्टमा बाजे र नातिनीको भाव सञ्चारमा समस्या भएछ । उच्चारणको कारण बाजे नातिनीहरुको अंग्रेजी फुट्टी नबुझ्ने, नातिनीहरु बाजेको अंग्रेजी फुट्टी नबुझ्ने । चित्तको भाव आदान–प्रदान गर्ने साझा भाषा नहुँदा बाजे र नातिनीका बीचमा बिरानोपन र दूरी पैदा गर्ने विशाल नदी बग्न थालेछ । अब बाजे नदीवारि भए, नातिनीहरु नदीपारि । बीचमा बग्यो बिरानोपनको अस्मेल भेल । संस्मरणमा भावसञ्चारको सङ्कटको त्यो क्षण सम्झेर साकारले मानौँ दाह्रा किट्दै लेखेका छन्— ‘नातिनीहरुले त नेपाली भाषा पोलेर खाइसकेछन् !’
अबोध नातिनीहरुमाथि साकारको यो कठोर भनाइ मेरो मनमा च्वास्स बिझायो । र, त्यो चस्कोले जति बिर्सूँ भने पनि पन्छिन नमानी मलाई नित्य लखेटिरहेछ । साकारले नातिनीहरुलाई लगाएको ‘नेपाली भाषा पोलेर खाएको’ आरोपमा मैले एक बाजेको संवेदनाहीन अबुझपन वा क्रुरता देखेँ । नातिनीहरुले आवश्यकताले नेपाली सिकेका थिए, अनावश्यकताले नेपाली बिर्सिदिए । मैले जानेको सोझो कुरो यो हो । दैनिक कामकाजका विविध नाका र सन्दर्भहरुमा नेपाली भाषा काम लाग्न छाडेपछि त्यसलाई त्याग्नु के नातिनीहरुको अपराध हो र ? चस्को पसेको मेरो चित्तले मसँग सुटुक्क प्रश्न ग-यो— भाइ, संवेदनशील कविको अभिनय गर्ने यस्तो त्रूmर बाजे केको संवेदनशील कवि ? संवेदनशील कवि कसरी बगरे हुनसक्छ ?
आफूलाई कतै काम नलाग्ने भाषा नातिले छाडिदिँदा ‘नेपाली भाषा पोलेर खाइसकेछ’ भनी म बाजेले उसलाई फत्तुर लगाउन सुहाउँछ र ? मेरो आग्रहको तुष्टिका लागि मेरो नातिले आफ्नो दैनिक जीवन–व्यवहारमा कहीँ कतै काम नलाग्ने भाषाको बोझ किन बोकिहिँडोस् ? ऊ व्यर्थमा मेरो भाषाको भरिया किन बनिरहोस् ?
भाषा बोकाइ र छोडाइको प्रसङ्गमा मलाई आफ्नो नातिको याद आयो । ऊ अमेरिकीमा जन्मेको खाँट्टी अमेरिकी नागरिक हो । आमाबाले सानोमा उसलाई घरमा नेपाली मात्र बोल्न सिकाए । जब ऊ नर्सरी जान थाल्यो, अंग्रेजी नजान्दा उसलाई भाषाको पर्नु संकट प-यो । नर्सरीमा आवश्यकताले ऊ अंग्रेजी सिक्दैगयो, अनावश्यकताले ऊ नेपाली छाड्दै गयो । ऊ अहिले चौध वर्षको भयो । अहिले ऊ ‘ठीक छ’ बाहेक नेपाली फुट्टी बोल्दैन । कहिले त उ ‘बेठीक छ’ भन्नुपर्ने ठाउँमा पनि ‘ठीक छ’ ठोकिदिन्छ । छोराले नेपाली बिर्सेकोमा आमाबालाई चिन्ता छ । तर म भन्छु— मेरो नातिले नेपाली भाषा बिर्सनु वा बोल्न छाड्नु न हर्षको कुरा हो न विस्मतको । यो त केवल आवश्यकता र अनावश्यकताको कुरा पो हो ।
घरमा नेपाली आवश्यक थियो, नातिले नेपाली सिक्यो । नर्सरीमा नेपाली आवश्यक हुन छाड्यो, नातिले नेपाली छाडिदियो । नातिलाई नेपाली भाषा घरबाहिर कतै काम लागेन । त्यो नर्सरीमा काम लागेन । त्यो चिडियाखानामा काम लागेन । त्यो बाल–बाटिकामा काम लागेन । त्यो खाद्यान्न पसलमा काम लागेन । त्यो मलमा काम लागेन । त्यो रेष्टुरामा काम लागेन । त्यो सिनेमा हलमा काम लागेन । त्यो पुस्तकालयमा काम लागेन । त्यो अमेरिकी साथीको घरमा काम लागेन । त्यो बर्थ डे पार्टीमा काम लागेन । त्यो क्रिस्मस पार्टीमा काम लागेन । नयाँ वर्षको जमघटमा त्यो काम लागेन । त्यो हलोवीनको रमझममा काम लागेन । फुटबल ग्राउन्डमा त्यो काम लागेन । त्यो पढाइमा काम लागेन । आफूलाई कतै काम नलाग्ने भाषा नातिले छाडिदिँदा ‘नेपाली भाषा पोलेर खाइसकेछ’ भनी म बाजेले उसलाई फत्तुर लगाउन सुहाउँछ र ? मेरो आग्रहको तुष्टिका लागि मेरो नातिले आफ्नो दैनिक जीवन–व्यवहारमा कहीँ कतै काम नलाग्ने भाषाको बोझ किन बोकिहिँडोस् ? ऊ व्यर्थमा मेरो भाषाको भरिया किन बनिरहोस् ?
बेलायत र अमेरिकावासी थुप्रै नेपालीभाषी आमाबाका मुखबाट मैले यो गनगन सुनेको छु । छोराछोरीले नेपाली बोल्न छाडेर बर्बाद भो ! अब यिनले हाम्रो संस्कार–संकृति पनि चटक्कै बिर्सने भए ! यी आमाबासँग मैले उही तर्क गरेँ, उही जिरह गरेँ । आमाबाको आफूलाई काम नलाग्ने भाषा सन्तानले बोल्दिनैपर्ने किन ? जेको उपयोगिता छ, आवश्यताले त्यो सिकिन्छ र त्यसको प्रयोग गरिन्छ । जेको उपयोगिता निख्रिन्छ, अनावश्यकताले त्यो बिर्सिइन्छ र छाडिन्छ । बेलायत, अमेरिका, क्यानाडा वा अष्ट्रेलियामा स्थायी बसोबास गर्ने नेपालीभाषीहरु त्यो–त्यो देशका नागरिक हुन् । तिनले बाँकी जीवन जिउने त्यतै हो, आखिरमा तिनले जीवन बिसाउने त्यतै हो । नेपाली तिनको मातृभाषा होला, नेपाल तिनको भूतपूर्व देश हो । तिनका सन्तानका लागि नेपाली भाषा आमाबाको भाषा हो, अंग्रेजी आफ्नो भाषा । तिनका सन्तानका लागि नेपाल आमाबाको देश हो, आफू जहाँ बसेको छ, त्यो आफ्नो देश हो । आमाबाको संस्कार–संस्कृति जोगाइदिने नाममा आफूलाई कतै काम नलाग्ने नेपाली भाषाको भारी तिनका सन्ततिले किन बोकिरहनुप-यो ?
मानिसलाई कतै पु-याउने आफ्नो सामथ्र्यमा भाषाको उपयोगितामा निहित छ । जुन भाषाले मानिसलाई जहाँसम्म पु-याउँछ, त्यसको उपयोगिता त्यही सीमारेखामा तुरिन्छ । जुन भाषाको उपयोगिता जहाँ तुरिन्छ, त्यहाँ त्यो भाषा छाडिन्छ र त्यसको सट्टा अर्को उपयोगी भाषा बोकिन्छ । पान्थर वा इलामको लिम्बू माइखोलाको किनारमा लिम्बू भाषा छाडेर नेपाली भाषा बोकेर झापातिर लाग्छ । किन ? किनभने त्यसयता लिम्बू भाषाद्वारा क्षणक्षणको बोलीचालीको निर्वाह चल्दैन । काठमाडौँको नेवार उपत्यकाबाहिर जाँदा थानकोटमा नेपाल भाषा बिसाएर नेपाली भाषा बोकेर बाहिर जान्छ । किन ? किनभने त्यसउता नेपाल भाषाद्वारा छिनछिनको बोलीचालीको निर्वाह चल्दैन । कोही नेपाली भारत जाँदा दरभङ्गामा नेपाली भाषा बिसाएर हिन्दी भाषा बोकेर लुखुर–लुखुर अघि बढ्छ । किन ? किनभने भारतमा नेपाली भाषाले गरिखाँदैन । भारतभन्दा पर कतै जानुपर्दा कोही नेपाली हिन्दी भाषा बिसाएर अंग्रेजी भाषा बोकेर अघि बढ्छ । किन ? किनभने त्यसउता हिन्दी भाषाको उपयोगिता रहँदैन । त्यसउता कनिकुथी भए पनि अंग्रेजी बोल्नैपर्छ, नबोले भोकले मरिन्छ ।
बेलायत, क्यानाडा, अमेरिका वा अष्ट्रलियावासी नेपालीभाषी आमाबाका रैथाने सन्तानले गर्ने पनि आखिर यही नै हो । तिनले काम लागुन्जेले आमाबाको भाषा बोल्छन्, काम लाग्न छाडेपछि त्यसलाई थपक्क बिसाउँछन् । न यो बोक्नु कुनै गौरवको कुरा हो न यो बिसाउनु कुनै ग्लानिको कुरा हो । भनिसकेँ, यो त केवल आवश्यकता र अनावश्यकताको कुरा हो । छोराछोरी आमाबाका रुचि, आग्रह, विश्वास, अन्धविश्वास वा अहंकारका भारी बोकिदिने निजी रुचि, निजी रोजाइ र निजी जीवनविनाका अन्धमति भरिया किमार्थ होइनन् । त्यसैले तिनको जीवनमा जे अनावश्यक छ, आमाबाका ‘राष्ट्रवादी’ इच्छाका नाउँमा तिनले त्यो बोझ बित्थामा किन बोकिदिऊँन् ?