काँग्रेसकाे राष्ट्रघाती द्वैध चरित्र


फागुन ११, काठमाडौँ । वैचारिक सामीप्यता हाे कि दलाली हाे ? भारत र अमेरिकाकाे हुकुममा ‘हस् हजुर’ मात्रै भन्नसक्ने काँग्रेसकाे कारण नेपालले राष्ट्रघातका गरुँगा बाेझहरु बाेक्नु परिरहेकाे विवस्ता जगजाहेर छ । जन्मिदै काेसी बेचेर राष्ट्रघात गरेकाे काँग्रेस आफूलाई बुढाेपाकाे दाबी गर्दासम्म राष्ट्रघात गरेर थाकेकाे छैन । बरु ऊ तम्सेको छ, अर्को राष्ट्रघातका लागि, अमेरिकी स्वार्थको एमसीसीका लागि ।

प्रष्ट कुराे हाे, एमसीसी हाम्रो देशका लागि घातक छ । यसभित्रका प्रावधान, अमेरिकी स्वार्थ, हाम्रो आत्मनिर्भरताकाे चाहना, आवश्यकता र खपत बढाउनुपर्ने बिजुली बेचेर धनी बन्ने अभिप्राय सबैसबैले एमसीसी अनुदान पूरै अनावश्यक र राष्ट्रघाती छ । तर नेपाली काँग्रेस र उसले नेतृत्व गरेकाे सरकार त्यही एमसीसी अनुदानको पक्षमा नैतिकहीन चरित्र देखाएर मरिहत्ते गरिरहेकाे छ ।

सारा देशले एमसीसी अस्वीकार गरिसक्यो तर काँग्रेस एमसीसीकाे पक्षमा निर्लज्ज छ । देशका सम्भावनाहरु सुम्पेर मालिक रिझाउन पल्केकाे कांग्रेसले राजनीति र दलाली सँगसँगै बढाइरहेको छ । तर काँग्रेसले कि राजनीति गर्नुपर्छ, कि दलाली गर्नुपर्छ । अन्यथा ढाटछलले केही समय टिके पनि अन्ततः द्वैध चरित्रका दलालहरुकाे असरफ घानी हुनुपर्ने दिन आउँछ नै ।

एमसीसी परियाेजना कांग्रेसकाे घटिया दलाली र अमेरिकाकाे अनुचित स्वार्थकाे एउटा रुप हाे । एमसीसी अनुदान मात्रै भइदिए कसैले अस्वीकार गर्दा अमेरिका छट्पटिन र धाकधम्कीमा उत्रिन जरुरी नै थिएन । त्यस्तै कांग्रेस घटिया दलाल नभइदिए जैरे एक कम्पनीको अनुदान अस्वीकार गर्दा खासै फरक पर्दैन भन्ने जान्न गाह्रो थिएन ।

आफैँले ताेकेकाे घुर्कीपूर्ण समयसीमा दुईदुईपटक गुज्रिदा पनि एमसीसी फिर्ता भएन । बरु फेरि बबण्डर मञ्चाउन फागुन १६ गतेकाे समयसीमा ताेक्याे । यसरी सुरुमै एमसीसीले एउटा स्वाधीन देशमाथि कुटनीतिक खेलवाड र बेइमानी गरेकाे छ ।

कतिपयले चीनले अरु राष्ट्रलाई ऋण दिँदा आपत्तिजनक सर्तहरु राख्छ त्यसैले अमेरिकी अनुदानका आपत्तिजनक सर्तहरु पनि मानी दिनुपर्ने तर्क गर्छन् । याेभन्दा घृणित तर्क अरु के हुनसक्छ ? पहिलो कुरा, के ऋण, के अनुदान त्यसको संसदीय अनुमाेदन र नेपालकाे विकास परियाेजनामा भारतकाे समर्थन अमेरिकाबाहेक कसैले खाेज्दैन । दाेस्राे कुरा, राष्ट्रघाती एमसीसी खाजेरीकाे संघर्ष चीनप्रति समर्पित संघर्ष हाेइन । के चीन, के अमेरिका, के भारत याे त सबै बाह्य स्वार्थ र हस्तक्षेपहरु विरुद्ध हाम्रो आफ्नो स्वाधीनताकाे संघर्ष हाे ।

याे देशमाथि चीनका कुनै अनुचित स्वार्थ छन् भने त्यसकाे पनि विराेध हाे । एमसीसी विराेधीहरुलाई चीनतिर फर्काइदिन कुनै जरुरी छैन । यद्यपि एमसीसी पक्षधर काँग्रेसलगायतले एमसीसी राष्ट्र हितमै छ भन्ने जिकिर गरिरहेका छन् । वैदेशिक सम्झाैतामा कांग्रेसलगायतले देख्ने राष्ट्रहित कस्ताे हुन्छ ? त्याे त महाकालीमै पनि देखियाे । त्यसैले काँग्रेसकाे चरित्र राष्ट्रघाती द्वैध खालकाे छ भनिएको हाे ।

नेपालकाे प्रधानमन्त्री हुने तर अमेरिकाको दलाली गर्ने, देशकाे जिम्मेवारीमा बस्ने तर विदेशी कम्पनीहरुकाे हितमा चल्ने, नागरिककाे करबाट सुविधा लिने तर मालिककाे स्वार्थमा तिनै नागरिकमाथि सुरक्षा निकायलाई हिंस्रक रुपमा परिचालन गर्ने, देश र जनताको पक्षमा सिन्काे नभाच्ने तर राष्ट्रघाती एमसीसीकाे पक्षमा रातदिन नसुतेरै लाग्ने आदि इत्यादि डरलाग्दा, घृणित र आपराधिक द्वैध चरित्र काँग्रेस र उसकाे सरकारले प्रष्टसँग देखायाे ।

यद्यपि, काँग्रेसकाे जसै द्वैध चरित्रले पनि अब राष्ट्रघात गर्न पाउने छैन तर नागरिकले दु:ख पाउनुपर्ने अवस्था त बनिदियाे । गणतन्त्र आएपछि, संविधानसभाबाट संविधान बनेपछि देशले सही दिशा लिने अपेक्षा थियाे । विडम्बना, राष्ट्रघातका राजतन्त्रकालीन दुस्साहसहरु वर्तमानमा पनि देखापरे ।

नागरिकको सार्वभाैम थलाे संसद जहाँ राष्ट्रकाे आवश्यकता र जनजीवनका मुद्दाहरुबारे छलफल हुनुपर्थ्याे, दुर्भाग्य त्यहाँ राष्ट्रघातबारे छलफल हुने दिन आयाे । तर फेरि भनाैँ, त्यसलाई असफल पारेरै छाडिनेछ । याे समय काेसी, गण्डक, महाकालीमा जस्ताे हुँदै गरेको राष्ट्रघात हेरी बस्ने समय हाेइन बरु आफ्नै पाैरखमा स्वाधीन जिन्दगी बाँच्ने समय हाे ।

काँग्रेस र उसकाे सरकार अमेरिकी दलालकाे रुपमा हामीमाथि राष्ट्रघाती एमसीसी थाेपर्न हाम्रै नुन खाएर नाङ्गै उत्रिएकाे छ । हामीले देश र जनताकाे लागि उनीहरू जस्ता दलालहरुलाई राेक्न संघर्षमा नउत्रिने हाे भने आधुनिक पराधीनता झेल्नुपर्ने भइदिन सक्छ । यतिखेर हर काेही नेपाली नागरिक राष्ट्रिय स्वाधीनताकाे पक्षमा आन्दाेलित हुन आवश्यक छ । सडक, सरकार र सदन सबैतिर एमसीसी खारेजीकाे पहलकदमी जरुरी छ ।

कतिपय नैतिकताका पुजारीहरुले सरकारमा बसेर सडकमा आन्दोलन गर्न नमिल्ने नैतिकताको पाठ पढाइरहेका छन् । तर सरकारमा बसेर काँग्रेसले राष्ट्रघात गर्न मिल्ने अनि अरुले सरकारमा बसेर राष्ट्रघातविरुद्ध आन्दोलन गर्नसम्म नमिल्ने कही हुन्छ ? याे मालिक पाेस्ने दलालहरुकाे तुच्छ नैतिकता कसैलाई पढाउन आवश्यक छैन बरु त्यसमा पनि आगाे झाेसिनुपर्छ ।

र, स्वाभिमानका लागि हर क्षेत्रका हर काेही नागरिक निरन्तर संघर्षमा रहनुपर्छ । जसले राष्ट्रघाती दलालहरुकाे पतन अनिवार्य बनाेस् । वैदेशिक अनुदान लिने नेपालकाे नीति र अमेरिकाको साम्राज्यवादी विदेश नीति दुईटैकाे बदलाव जरुरी बनाेस् । कम्तीमा नेपालकाे अनुदान लिने नीतिकाे परिवर्तन अवश्यम्भावी बनाेस् । अरुले भनेकाे सबै मानिदिने सर्तमा कुनै सहयोग लिइनु हुन्न । वैदेशिक सहयोग लिनै परे दाताहरुकाे अनुचित स्वार्थभन्दा हाम्रो हित र चाहनाले लिइनुपर्छ ।

-बडुवाल कपिल सिजापति

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?