देउवाकै गृहजिल्लामा फुट्यो कांग्रेस, मल्ल पक्षले गर्याे एमालेसँग चुनावी तालमेल
वैशाख ११, डडेल्धुरा । काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेस विभाजन भएको छ। नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजित भएको हो।
विभाजनसँगै स्थानीयतहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपी)ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गर्ने भएका छन्। नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेडेल्धुरा जिल्लाको प्रदेश (ख )बाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्ल पक्ष नेपाली कांग्रेस विपीबाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेको हो।
मल्ल समूहले एमालेसँग वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने भएको छ। आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ।
जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कांग्रेस विपीबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन्।
परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा कांग्रेस विपीका उम्मेदवारलाई दिने सहमति भएको छ। यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिने निर्णय भएको छ।
भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा एमालेलाई र उपाध्यक्ष कांग्रेस विपीलाई दिने सहमति भएको छ। अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र विपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा विपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन्।
उता गन्यापधुरामा कांग्रेस वीपीबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमति भएको छ। निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली कांग्रेस विपीका जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका छन्।
यसअघि मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरुलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिदै आएका थिए।