कांग्रेसको टिकट विवाद : प्रदेशको निर्णय केन्द्रले उल्टायो
वैशाख १२, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट वितरणमा कांग्रेसको प्रदेश र केन्द्रीय समितिको निर्णय बाझिएको छ । प्रदेश समितिले धर्मराज पोखरेललाई टिकट दिने निर्णय गरेकोमा केन्द्रीय कार्य समितिले तीर्थराज भट्टराईलाई मेयरको टिकट दिएको छ ।
प्रदेश समितिको निर्णय अनुसार पोखरेल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेको केही समयपछि भट्टराई केन्द्रीय समितिले दिएको टिकट लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाले प्रदेशको निर्णय उल्टाउँदै भट्टराई आधिकारिक उम्मेदवार भएको उल्लेख गर्दै पार्टीको उम्मेदवार कायम गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछि पोखरेलको मनोनयन दर्ता रोकिएको छ । केन्द्रको सिफारिसमा भट्टराईको मनोनयन दर्ता भएपछि पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी थालेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पोखरेलले टिकट पाएको भन्दै भट्टराई पक्षका नेता तथा कार्यकर्ताले सोमबार बिहान करिब तीन घण्टा कांग्रेस पार्टी कार्यालयमा घेराउ गर्दै ताला लगाएका थिए । तर पोखरेलको ठाउँमा भट्टराईले नै टिकट पाउने आश्वासनपछि असन्तुष्ट पक्षले ताला खोलेका थिए । प्रदेशबाट पोखरेलले टिकट पाएको खबर सार्वजनिक भएपछि कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका सभापति प्रकाश श्रेष्ठ नेतृत्वको टोली विरोध गर्दै पार्टी कार्यालयमा ताला लगाउन पुगेका थिए ।
प्रदेशबाट मेयरको टिकट पाएपछि पोखरेल हेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न दिक्तेल ओर्लिएका थिए । हेलिकोप्टरबाट ओर्लने बित्तिकै उनीमाथि असन्तुष्ट पक्षले हातपात गरेका थिए । उनलाई सुरक्षाकर्मीले आक्रमणबाट जोगाएर कांग्रेस पार्टी कार्यालयमा पुर्याएको थियो ।
केही घण्टा पार्टी कार्यालयमा बसेका पोखरेल सुरक्षाकर्मी सहित मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत पुगेका थिए । अदालतको गेटबाट भित्र पस्ने बित्तिकै एमालेका नेताले स्वागत गरेका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी तालमेलका क्रममा मेयर कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको हो । कांग्रेसमा टिकटको लफडा भइरहँदा माओवादी केन्द्रकोतर्फबाट उपमेयरमा बिसन राईको मनोनयन दर्ता भएको छ । टिकट लिने सन्दर्भमा कांग्रेसभित्र चलेको शक्तीसंघर्षको असर गठबन्धनभित्र पर्ने आकलन छ । यसले एमालेलाई उत्साहित बनाएको छ ।