गोली लागेर घाइते भएकी कर्मचारीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
वैशाख ३०, गोरखा । स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन्।
मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद भएको थियो। विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी हुन्।
निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको बताए। ५५ प्रतिशत मत खसिसकेको अवस्थामा स्थिति तनावग्रस्त बनेको गौतमको भनाइ छ। करिब साढे चार बजेदेखि यहाँ विवाद सिर्जना भएको हो।
घटना स्थलमै भएका स्थानीय सुनिल लामिछानेले गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनीषा थापा घाइते भएकी बताए। २२ वर्षीया थापाको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । घाइतेको उपचारका लागि हेलिकोप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ। हेलिकोप्टर मगाइसकेका छौं’, आचार्यले भने।