स्थानीय निर्वाचन – एक महानगर र दुई उपमहानगरमा अग्रता लिँदै स्वतन्त्र उम्मेदवार


वैशाख ३१, काठमाडाैँ । देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ।

वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन्।

अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन्द्र शाह उर्फ बालेन, मनोजकुमार साह र विदुर बस्नेत।बालेन सङ्‍घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन्।

युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहले पछि पारेका छन् । र, उनले लगातार मतान्तर बढाउँदै लगेका छन्।

यो समाचार तयार पार्दासम्मको विवरणअनुसार बालेनको २१३ मत छ। स्थापितको १५९ र सिंहको १४८ मत छ । बालेनले अग्रता लगातार लिइरहेपछि समर्थकहरूले राष्ट्रियसभा गृह क्षेत्रमा खुसियालीस्वरुप नाराबाजी गरिरहेका छन्।

काठमाडौं महानगरपालिकापछि अर्को चर्चित स्वतन्त्र उम्मेदवारले अग्रता जारी राखेको उपमहानगरपालिका हो– जनकपुर उपमहानगरपालिका।

मधेस प्रदेशको राजधानी रहेको यो उपमहानगरपालिकामा मनोजकुमार साहले पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई लगातार पछि पारेका छन्।

उपमहानगरपालिकाको वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत र नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हीरा’ ले १ सय ५ मत पाएका छन्। गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मात्र छ ।

अग्रता लिइरहेका साह कांग्रेसका विद्रोही उम्मेदवार हुन् । पार्टीले उनलाई कारबाही गरिसकेको छ । तर, प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहँदा उनी अघि छन्।२०७४ सालको निर्वाचनमा उनी लालकिशोरको निकटतम प्रतिद्वन्द्वी थिए। जतिबेला लालकिशोर राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए।

प्रदेश १ को धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता लिइरहेका छन्। वडा नम्बर–१ को १०० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ ३३ मतसहित अग्रस्थानमा छन्।

उनलाई ३१ मतसहित कांग्रेस–माओवादी गठबन्धनका किशोर राईले पछ्याइरहेका छन्। २०७४ मा निर्वाचन हुँदा एमालेका तारा सुब्बा निर्वाचित भएका थिए। उनको निधन भएपछि भने उपनिर्वाचन २०७६ मा भएको थियो । त्यसबेला तिलक राई निर्वाचित भए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?