चितवन अपडेटः माडी-१ मा राप्रपा, ९ मा माओवादी र इच्छाकामना-२ मा एमाले विजयी


जेठ १, चितवन । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका–१ मा राप्रपाले वडाध्यक्ष जितेको छ। राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन्।

उनी यसअघि सोहि वडाको वडा सदस्य थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे।

सदस्यमा पनि राप्रपाकै उमेदवार विजयी भएका छन्। राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जय नारायण लामिछाने निर्वाचित भए।

माडी–९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडीले जितेका छन्। दवाडीले १ हजार १८ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीले ५०८ मत मात्रै प्राप्त गरे। राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याए। यसअघि यस वडामा एमालेका सुवेदीले जितेका थिए।

वडा सदस्यमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान विजयी भए।

इच्छाकामना गाउँपालिका–२ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी भए। उनी ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन्।

गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन्। २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?