गोरखाको चुमनुब्रीमा एमालेले बिरोध गरेपछि अझै सुरु भएन मतगणना


जेठ १, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एमालेले बिरोध गरेपछि अझै पनि मतगणना सुरु हुन सकेको छैन। मतगणना भन्दा पहिले सर्वदलीय बैठक बस्नु अघि निर्वाचन अधिकृतले माओवादी र कांग्रेसँग मात्रै छलफल गरेको भन्दै एमालेले बिरोध गरेपछि मतगणना सुरु हुन नसकेको हो।

‘सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भन्ने थियो। तर, बैठक बस्नु अघि अधिकृतले एमालेलाई छाडेर कांग्रेस, माओवादीसँग मात्रै छलफलमा बसे। अनि हामीले बिरोध गयौँ। त्यसपछि सर्वदलीय बैठकपनि बस्न सकेको छैन’, एमालेका पालिका अध्यक्ष सुक बहादुर गुरुङले भने।

आज साँझ करिब ८ बजेदेखि गाउँपालिकाको केन्द्र फिलिममा मतगणना सुरु गर्ने तयारी थियो। तर, सात बजेतीर अधिकृत नानीबाबु पोखरेलले एमालेलाई वाहेस गरेर छलफलमा बसेको भन्दै बिरोध सुरु भएको छ।

निर्वाचन अधिकृत नानीबाबु पोखरेल भने एमालेका प्रतिनिधीको बुझाई गलत भएको बताउँछन्।

उनले भने, ‘सर्वदलीय बैठकबस्नु अघि अर्कै बिषयमा दुई दलहरुसँग छलफल गरेका थियौँ। उहाँहरुको बुझाई गलत भयो। सर्वदलीय बैठकमा सबै दलहरुलाई बोलाईन्छ’, अधिकृत पोखरेलले भने।

अहिले प्राबिधिक कुराहरु मिलाईरहेको बताउँदै सबै ब्यबस्थापन सकेपछि मतगणना सुरु गर्ने उनले बताए। भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका संकलन गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?