अष्ट्रेलियामा तत्काल घर किनीहाल्ने कि पर्खिने ?
जेठ ३०, मेलबर्न, अष्ट्रेलिया । संसारमै देखिइरहेको बढ्दो इन्फ्लेसन, बढ्दो ब्याजदर, अष्ट्रेलिया र चीनको सम्बन्धमा देखिएको चिसोपना र यसबाट उत्पन्न व्यापारिक असर,रसिया-युक्रेन लडाईको असरबाट अष्ट्रेलियाको अर्थतन्त्र पनि अछुतो रहन नसक्ने अवस्था देखिइसकेको छ। उदाहरणका लागि हामी सबैले अनुभव गरेको कुरा सामानको भाउ आकासिएको छ, बैंकहरुले ब्याजदर बढाई सके, अब अर्थतन्त्र कता जान्छ ? सम्पत्तिको भाउ के हुने हो ? तुरुन्तै किन्दा जितिने हो कि, केहि समय पर्खिदा ठिक हुने हो ? चासो राख्नेहरुमध्ये धेरैको मनमा खेल्ने कुराहरु यिनै होलान्।
अब ठ्याकै यही हुन्छ त्यसकारण यसो गर्नु भनेर ज्योतिषीको भाषामा भन्न त त्यति सजिलो नहोला किनकी अर्थतन्त्र, प्रोपर्टी मार्केट भन्नेकुरा एउटा मात्र फ्याक्टरले डोर्याएको हुदैन तर पनि अहिलेको अवस्थामा केले काम गरि रहेको छ र अब कता मोडिने सम्भावना हुनसक्छ भन्ने कुरा केलाउने कोशिस चाँही गर्न सकिन्छ ।
सरसर्ती हेर्दा अहिलेको अवस्थामा निम्न कुराहरु सान्दर्भिक देखिन्छन्।
इन्फ्लेसन:
अहिलेको सबैभन्दा जल्दोबल्दो र सबैको लागि घाँडो भएको समस्या भनेको इन्प्लेसन हो। साच्चै भन्नुपर्दा अहिलेको समस्याको कडी भनेकै यहि हो जसको कारणले सबैतिर मुल्यवृद्धी आकासिएको छ। यसको नियन्त्रणका लागि रिजर्भ बैंकले ब्याजदर बढाउन शुरु गरिसक्यो र इन्फ्लेसन नियन्त्रण नभएसम्म ब्याजदर बढाउनेक्रम रोकिने जस्तो देखिँदैन। इन्फ्लेसनको लगनगाँठो ब्याजदर र ब्याजदरको लगनगाठो प्रोपर्टी मार्केटमा जोडिएकोले यसको सिधा असर प्रोपर्टी मार्केटमा पनि परिसकेको छ र अझै पर्ने वाला देखिन्छ ।
के कारणले इन्फ्लेसन बढिरहेको छ त ?
यसरी एकाएक इन्फ्लेसन बढ्नुमा एउटामात्र कारण नभएर विभिन्न कारणहरु छन् जसमध्ये गएको २-३ वर्ष संसारनै कोभिडले आक्रान्त भयो। सबै देशले लकडाउनको सामना गर्नुपर्यो यसले उत्पादनदेखि सबैतिर सिधा असर गर्यो अझैपनि चीन र अन्य मुलुकमा लकडाउन बेलाबेलामा भइरहेको सुन्नमा आईरहन्छ जसको असर उत्पादन र ढुवानीमा परिरहेको छ। त्यतिबेलादेखि संग्लेको असर जब संसार सामान्य अवस्थामा फर्किँदै गयो सबैचिज सबैतिर खुल्दै जादा एकाएक हरेकचिजको माग बढ्न थाल्यो। तर २-३ वर्षको लकडाउनले लोजिस्टिक धरासायी जस्तै हुन पुगेको थियो। जसले गर्दा चाहिएको र भनेजति सामान समयमा उत्पादन, ढुवानी र पूर्ति हुन सकेन।
यसको एउटा मुख्यकारण लकडाउनको बेला थुप्रै कम्पनीहरुले कर्मचारीहरु कटौती गरे। ति कर्मचारीहरु मध्ये ठुलै हिस्सा अर्को काम खोजेर अन्तै लागिसके। जब लकडाउन खुल्दै गयो पुराना कामगर्ने मान्छे छैनन् । नयाँ पाउनु पर्यो, तालिम दिनु पर्यो जसको कारण पुरा प्रक्रिया नै ढिला हुन पुग्यो। यसकारणले पनि सामान तथा सेवाहरुको मागभन्दा पूर्ति कम हुनगयो । यसो भएपछि भाउ बढ़नु स्वभाविक नै हो। त्यसमाथि हालैको रुस र युक्रेनको लडाइँले तेलको भाउ बढाइदिएर आगोमा घिउ थप्ने काम गरिदियो।
संसारका सबैजसो देशहरु जस्तो न्युजील्यान्ड,अमेरिका र धैरैजसो युरोपियन देशहरु जुन अष्ट्रेलियाका व्यापारिक पार्टनरहरु हुन्, उनीहरु पनि यिनै कारणहरुले गर्दा इन्फ्लेसनको चपेटामा छन्। यसको प्रत्यक्ष असर अष्ट्रेलियामा पर्न गयो।
अर्को कुरा, गएको केहि वर्षदेखि अष्ट्रेलिया र यसको मुख्य व्यापारिक पार्टनर चाीनसँगको सम्बन्धमा तितोपना आएको छ। यसको प्रत्यक्ष असर यहाँको माईनिंग,कन्स्ट्रक्सन र रिटेल इन्डस्ट्रीमा परेको छ। जब चीनबाट आउने समान नै नआए पछि वा कम आएपछि भाउ बढ्नु स्वभाविकै हो।
अर्कोतर्फ, अलि नमिल्ने कुरा जस्तो लाग्ने, अष्ट्रेलियाको बेरोजगारी इतिहासमै सबैभन्दा कम भएको बेला छ। यसको मतलब सबै जसो मान्छे रोजगार भएपछि त उत्पादन बढनु पर्ने। उत्पादन बढेपछि आपूर्ति बढ्नु पर्ने। आपूर्ति प्रशस्त भएपछी त मुल्य घट्नु पर्ने हो। तर, यहाँ उल्टो भए जस्तो देखिन्छ। यसको मतलब भएका मानव श्रोतहरुको उचित एलोकेशन नभएको हो की ? वा माथिका कारणहरुले डोमीनेट गरेको हो ? यो पनि सोच्नु पर्ने विषय छ। जे भएपनि हालको समस्या भित्रको समस्यामा ठिक ठाउमा ठिक लेबर फोर्सको सर्टेज पनि पर्छ नै।
इन्फ्लेसन कसरी र कहिलेसम्ममा कन्ट्रोल होला त ?
अष्ट्रेलियन रिजर्भ बैंकले सन् २०२४ सम्म ब्याजदर बढाउनु पर्ने स्थिति नआउन सक्ने भनेर दिएको हिन्टलाई आधार मानेर ठुला बैंकहरुले नै ४ वर्षको फिक्स रेट केहि महिना अघिसम्म २% भन्दा तल कायम राखेका थिए र सारै धेरै पनि भएको छैन। तर, एकाएक केहि महिना भित्रै डबल बनाएको तथ्य हाम्रो अगाडी नै छ।
इन्फ्लेसनले यति छिटो ओवरटेक गर्ला र तुरुन्तातुरुन्तै ब्याजदर बढाउनु पर्ला भनेर रिजर्भ बैंकले पनि सोचेको थिएन होला। यस्तो अवस्था आउनुमा कोभिड रिकोभरी सोचेभन्दा छिटो भयो। सबैतिर काम शुरु भयो तर सप्लाईको लागि चाहिने सप्लाई चेन बढ़दो मागलाई पुग्ने गरि तयार हुन सकेन।
अब विशेष गरेर चाइनाले अलिअलि कोभिड आउने बित्तिकै लकडाउन नगर्ने हो र सबै तिरबाट छिटो भन्दा छिटो हालको सप्लाई चेनलाई ट्रयाकमा ल्याउने हो भने धेरै हदसम्म इन्फ्लेसन कन्ट्रोल होला तर रुस र युक्रेनको लडाई नरोकिएसम्म तेलको भाउको कारणले पनि सोचे जति कन्ट्रोल नहुन सक्छ।
अर्कोतिर अमेरिकाको इन्फ्लेसन अलि गम्भिर छ। खाली लोजिस्टिकको समस्या हल भएर पार पाइने खालको छैन। उनिहरुले यती पैसा छापेका छन् कि अब इन्फ्लेसन कसरी कन्ट्रोल गर्ने ? भन्ने कुरा उनिहरुलाई नै च्यालेन्ज भएको छ। अमेरिकाको असर लामो समयसम्म यहाँ पनि पर्ने देखिन्छ।
उपाय केहि छ त ?
इन्फ्लेसन कन्ट्रोललाई दुइ टर्ममा बाँडेर हेर्न सकिन्छ।
अल्पकालीन समाधान:
रुस-युक्रेन युद्धको अन्त्य। यो युद्धले थुप्रै समस्याहरु निम्त्याएको छ र निम्त्याउँदै छ। तर सबैभन्दा सिधा असर भनेको तेलको भाउ बड्नु हो। अहिले तेलबाट नै धैरै कुराहरु गर्न सकिने हुँदा तेलको आपूर्ति र यसको मूल्यले विश्व अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ। रुस र युक्रेनको समस्या तुरुन्तै हल हुने जस्तो त देखिदैन तर केहि गरि युद्ध वार की पार भयो भने कम्तिमा बजार स्टेबल हुने र तेलको मूल्यमा गिरावट भै इन्फ्लेसन कन्ट्रोलमा सहयोग पुग्ने देखिन्छ।
सप्लाई चेनमा सुधार
अहिलेको इन्फ्लेसनलाई मलजल गर्ने मुख्य समस्या भनेको सप्लाई चेन हो। यसो हेर्दा यो लामो समय रहिरहने जस्तो लाग्दैन। सामान्य अवस्था आउने बित्तिकै इन्फ्लेसनमा सुधार हुने देखिन्छ।
लेबर मार्केटमा सुधार
अष्ट्रेलियाको हकमा बेरोजगारी एकदम कम छ। सरसर्ती हेर्दा सबै रोजगार भएको ठाउमा लेबर मार्केटको समस्या नदेखिनु पर्ने हो। तर, केहि न केहि मिसम्याच भएको जस्तो देखिन्छ। तरपनि कोभिडको बेला लकडाउनले गर्दा लेबर मार्केटमा भएको ब्यालेनसमा गडबडी आयो जस्तोकी ब्याक प्याकरहरु फर्किए। फार्मका कामदार यत्रतत्र भए। विदेशी विद्यार्थीहरु रोकिए। अबको फिक्स भनेको विदेशबाट कामदार ल्याउने हो।
दिर्घकालिन समाधान
समस्याले समाधानको खोजी गरिरहन्छ। जसरी कोभिडको कारणले लकडाउन भयो। लकडाउनको कारणले घरबाट काम गर्ने अप्सनलाई संस्थागत बनाइदियो। अहिलेको क्राईसिसले पनि तेलको सट्टा सोलार र इलेक्ट्रिकल सम्बन्धित कुराहरुको अधिकतम प्रयोग, लेबर ओरिएन्टेड (हातले गर्नु पर्ने कामलाई मेसिनले गर्ने बनाउने) आदि कुराहरुको विकास हुने क्रम बढ्ने छ र अहिलेको अवस्था आउन नदिन दीर्घकालिन समाधान निस्कन सक्छ।
प्रोपर्टी मार्केट कता जाँदै छ त ?
अहिलेको अवस्थालाई हेर्दा सिधै यता जान्छ भनेर ठोकुवा गर्ने स्थिति त छैन। तर गएको केही वर्ष प्रोपर्टी मार्केटको लागि हनिमुन पिरिओड नै थियो। किनकी ब्याजदर इतिहासमै सबै भन्दा कम। फलस्वरूप होल्डीङ्ग कस्ट कम र मुल्य वृद्धि बढी। हामी सबैलमई थाहा भएको कुरा हो, गत केहि वर्ष भित्रमा प्रोपर्टीको भाउ नबढेको ठाउँ रहेन। तर कम्तिमा पनि आगामी केहि वर्षको लागि अवस्था बदलिएको छ।। मतलब ब्याजदर बढ्दै गइरहेकाले होल्डीङ्ग कस्ट बढी हुने र लगानीकर्ताको महँगो ब्याजदरको कारणले ऋण लिन सक्ने क्षमतामा कमि हुने साथै भोलिका दिनमा अर्थतन्त्र कता जान्छ भन्ने कुरामा अन्योलता रहिरहेकोले लगानीकर्ताहरु निर्धक्क भएर लगानी गर्ने अवस्था छैन। त्यसकारणले पनि कम्तिमा पनि छोटो समयको लागि भएपनि विशेगगरी हाईइन्डका प्रोपर्टीहरुको माग घट्न गइ मुल्यमा स्थिरता आउने अथवा केहि सहरहरुमा मूल्यनै घट्न सक्ने समेत हालैका अक्सन क्लियरेन्समा आएको गिरावट, बैंकहरुको ब्याजदर बढाउने दौडधुप र फाईनान्शियल एनालिस्टहरुको विश्लेषणहरुले देखाउँछ।
अहिलेको अर्को समस्या भनेको आर्थिकमन्दी आउने देखिने बित्तिकै मनि प्रिन्ट गर्नु हो। अहिलेको मोर्डन युगमा आर्थिक संकट टार्न मनि प्रिन्ट गर्नु अल्पकालीन सोलुसन त हुन्छ। तर यो प्रकृया लामो समय लगातार गरियॊ भने समस्या बन्न सक्छ। हाल अमेरिकी अर्थतन्त्रमा देखिएको समस्या पनि यहि हो।
प्रोपर्टी किनिहाल्ने की अहिलेलाई होल्ड गर्ने त ?
अष्ट्रेलियाको बेरोजगार दर इतिहासमै कम छ। कोभिड पछिको अष्ट्रेलियाको अर्थतन्त्र राम्रो स्तिथिमा छ। तर माथि उल्लेख गरिए झै इन्फ्लेसन नै अहिलेको समस्या हो र कम्तिमा पनि अरु एक दुइ वर्ष नर्मलाइज हुन लाग्ने र रिजर्भ बैंकले अझै ब्याजदर बढाउँदै जाने देखिन्छ। जसको फलस्वरुप प्रोपर्टी मार्केटमा सिधाअसर पर्ने देखिन्छ। जसले गर्दा जति ब्याजदर बढ्दै जान्छ तेती नै हाईइन्डका प्रोपर्टीहरुमा गिरावट आउने त देखिन्छ तर प्रोप्रटीमा गरिने लगानी भनेको २-३ वर्षको समयसिमा तोकेर गरिने लगानी होइन। लामो समयलाई मध्यनजर राखेर लगानी गर्ने हो र ब्याजदर बढेको कारणले होल्डिंग कस्ट बढ्न जान्छ नै। यस्तो अवस्था आउँदा पनि धान्न सकिन्छ जस्तो लाग्छ भने अहिले नै किन्दा पनि फरक पर्दैन। यसो भनिरहँदा यो वर्षमा अरु दुइ तिन पटक ब्याजदर बढ्छ भन्ने एनालिस्टहरुको भनाईलाई आधार मान्ने हो भने अरु २-३ महिना कुर्दा पनि फरक नपर्ला!
जे सुकै भएता पनि लामो समयलाई टार्गेट गरेर प्रोपर्टी किन्ने हो भने ‘there is no wrong time to buy right property’.
सारांशमा भन्दा हरेक समस्याले समाधानको खोजि गर्छ र समाधान पनि निस्कनु पर्ने हुन्छ। थुप्रै विज्ञहरुको भनाइलाई आधार मान्दा र सबै फ्याक्टरहरुलाई केलाउँदा यो हालको समस्या भनेको अल्पकालीन् देखि मध्यकालीन् मात्र हो।
यसको आधार भनेको एक्स्पांड नगरी छोटकरीमा भन्दा इन्फ्लेसनले अवसर ल्याउँछ, अवसरले उत्पादन बढाउँछ, उत्पादन बढेपछि आपूर्ति बढ्छ। जब आपूर्ति बढछ तब प्रतिस्पर्धा बढ्छ, जब प्रतिस्पर्धा बढ्छ तब मूल्य घट्न सुरु हुन्छ। मूल्य घट्न सुरु हुने बितिकै इन्फ्लेसन कन्ट्रोलमा आउन सुरु हुन्छ। अष्ट्रेलियाको हकमा यो सान्दर्भिक जस्तो देखिन्छ।
यस आलेखका लेखक चुरामणि बेल्बासे हुन्। उहाँ सिपीए एकाउन्टेन्ट र होमलोन सल्लाहकार हुनुहुन्छ। (लामो समयदेखि अस्ट्रेलियामा एकाउनटिंग फर्म चलाउँदै आउनु भएको छ।