कहाँ अड्कियो आरआआर रेस्टुरेन्ट योजना ?
असार १३, मुम्बई । साउथका सुपरस्टार रामचरण र जुनियर एनटीआरले फिल्म ‘आरआरआर’मा आफ्नो जबर्जस्त अभिनयसँगै कैयौं रेकर्ड तोडे। एसएस राजामौली निर्देशित फिल्मले विश्वव्यापी १५ सय करोडभन्दा बढी कलेक्स्न गरेर सन् २०२२ कै ब्लकबस्टर फिल्म साबित भयो।
फिल्मको क्रेज अझै सकिएको छैन। फिल्मको सफलतापछि एक तेलुगू फिल्म निर्माताले ‘आरआरआर’का अभिनेता रामचरण र जुनियर एनटीआरसँग ‘आरआरआर’ ब्रान्डको नाममा एक रेस्टुरेन्ट खोल्ने योजनासहित सम्पर्क गरेका थिए। जुन योजनामा उनी निर्देशक राजामौलीलाई पनि साझेदारका रूपमा राख्न चाहन्थे।
ती निर्माताले रेस्टुरेन्टमा एक उत्कृष्ट कुक राखेर स्वादिलो भारतीय खाना तथा परिकार बनाउन चाहन्थे। उनले रेस्टुरेन्टको सजावट पनि फिल्मको कथाजस्तै बनाउन चाहन्थे। यसबाहेक रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई भारत स्वतन्त्र हुनुअघिको पहिरन प्रयोग गराउने उनको योजना थियो।
तर फिल्म रिलिजपछि रामचरण र जुनियर एनटीआर दुवै आफ्नो काममा व्यस्त भए। जसकारण ‘आरआरआर’ थिमवाला रेस्टुरेन्टका लागि काम गर्ने विषयमा दुवै अभिनेता सहमत भए या भएनन् भन्ने कुरा खुलेको छैन।