अन्मिएपछि गाडी चढ्न नसकेको त्यो दिन


साउन ३, काठमाडौँ । प्राकृतिक विविधता र सौन्दर्यले भरिएको बेथाञ्चोक(२ ढुंर्खक जहाँ चोरन्डेडाँडा, मूलडाँडा, आहालडाँडालगायतका डाँडाहरूमा हरियाली र स्वच्छ वातावरण छ। अनि दुर्लुङ् खोला, गोरेगैरो खोला, पाट्ने खोला र बागने खोलाको सफा र सङ्लो कलकल पानी बगिरहन्छ।

त्यो बेथाञ्चोक न त फोहोरको दुर्गन्धले प्रदूषित छ, न त बस गाडीको हरनको आवाजले कान नै थुन्न पर्छ। त्यहाँ त चिरविर चिरविर चरीको आवाज, सङ्लो अनि कलकल बगेको पानी, स्वच्छ र स्वस्थकर हावा बगिरहन्छ। यो त्यो ठाउँ हो जहाँ सामाजिक, सांस्कृतिक र धार्मिक आस्थाका धरोहर जो सबैलाई आफन्त ठान्नुहुन्छ, सबैलाई बराबर माया गर्नुहुन्छ र आफूसँग जे छ सबैलाई बाँडिचुँडी खानुहुन्छ। त्यस्ता हजुरबुबा, हजुरआमा, आमाबुबा, काकाकाकी तथा दाजुभाइ दिदीबहिनी बस्नुहुन्छ।

हो म त्यही बेथाञ्चोक(२ ढुंर्खकमा जन्मी हुर्केकी छोरी । मैले बाल्यकाल र विद्यालय शिक्षा त्यहीँ पूरा गरेँ। मेरो बुबा डा।बलराम तिमल्सिना श्री पार्वती माविको प्रधानाध्यापक हुँदा नै २०४९ सालमा कक्षा १ मा भर्ना गरिदिनुभयो। मैले २०५९ सालमा त्यसै विद्यालयबाट एसएलसी पास गरेँ। २०५० सालमा बुबा प्रधानाध्यापक छाडेर निजामती सेवामा प्रवेश गर्नुभयो र काठमाडौँ जानुभयो। बुबा काठमाडौँ गएपछि मलाई पढ्नका लागि पटक पटक काठमाडौँ जाउँ भन्नु भयो । तर मैले हजुरबुबा र हजुरआमालाई छोड्न सकिनँ। म जन्मिएको हुर्किएको स्वच्छ, सफा र हराभरा बेथाञ्चोक। त्यसैले मैले विद्यालय शिक्षा पार्वती मावि बेथाञ्चोकबाटै पूरा गरेँ।

कक्षा ६–७ तिर पुगेपछि मैले छोरा र छोरीबीचको फरक, छोरी अन्मिएर अर्को घरमा जानुपर्ने, उसले आफ्नो थर फेर्नुपर्ने आदि बारे अलिअलि बुझ्न थालेँ। मेरा छरछिमेकका दिदीहरू रुँदैरुँदै डोलीमा चढेर अन्मिएको अनि कति दिदीहरू परिवार र समाजको अनुशासन तोडेर, बुबाआमाको स्वीकृत बेगर आफैँ दुलाहा रोजेर हिँडेको पनि म देखिरहन्थे। अनि म भित्रभित्र प्रतिज्ञा गर्थेँ कि म भने परिवार र समाजको अनुशासन तोड्दिन र बुबाआमाको मन पनि दुःखाउँदिन र उहाँहरूको सपना चकनाचुर पनि पार्दिन भनेर।

आखिर भयो पनि त्यही। मेरो जिन्दगीमा धेरै साथीहरू भए र छन् महिला र पुरुष दुबै। तर विवाहभन्दा पहिले मैले जीवन बिताउने साथी बनाइन र प्रयास पनि गरिनँ। हजुरबुबा, बुबा र आमाले हेरेको, उहाँहरूले छानेको र मेरोसमेत चित्तले खाएको वरसँग विवाह गरेँ। यहाँमैले यो भन्न खोजेको हैन कि आफूले प्रेम गर्नु हुँदैन, केटा छान्नु हुँदैन आदि। मेरो सोचाइ यति मात्रै हो कि उमेर नपुगी, पढाइ नसकाई बाबुआमाको जानकारीबिना विवाह गरेर हिँड्दा सायद जिन्दगीको यात्रामा समस्या आउन सक्छन्।

मेरो स्नातकसम्मको पढाइ पूरा नहुञ्जेल न बुबाले मेरो विवाहको कुरा उठाउनुभयो, न हजुरबुबाले नै। कहिलेकाहीँ हजुरआमा र आमाले छोरीको अब त बिहे गर्न पर्छ है, तेरो केटो भए भन हामी उसैलाई दिन्छौं भन्नुहुन्थ्यो। म भने फिस्स हाँसेर सबै टारिदिन्थे‌।

जब म स्नातकोत्तर तहमा पढ्न थालेँ बुबा र हजुरबुबा दुबैजनाले मेरो विवाहको चासो राखेको थाहा पाएँ। घरमा माग्न आएको पनि थाहा पाएँ। बुबा र हजुरबुबा दुबैलाई मन परेको र मनले खाएको घरपरिवारको छोरा इन्जिनियर उत्तमकुमार थापासँग मेरो भेट गराउने चाँजोपाँजो मिलाउनुभएछ बुबाले। बानेश्वरस्थित एलिनाज बेकरी क्याफेमा दुबैका परिवारसहित हामीले भेट्यौँ, जिन्दगीका यात्राको बारेमा छोटो तर सटिक छलफल गर्याैँ र एकले अर्कालाई जिन्दगीभर साथ दिने स्वीकृति दिएर उठ्यौँ। सोही कुरा दुवै पक्षका अभिभावकलाई जानकारी गराइयो र हामी दुईबीच विवाह हुने निश्चित भयो। २०६९ असार १० गते मेरो विवाह महेन्द्र पुलिस क्लबमा भयो।

मलाई लिन बाजागाजाका साथ जन्ती लिएर आउनुभयो थापा परिवार। मलाई बाजागाजा बजेको एकदम मन पर्ने, बाजा बजेको सुन्नेबित्तिकै नाच्न मन लाग्ने म त्यो दिन त के भयो खै, त्यो बाजाको आवाज कानमा पर्नेबित्तिकै हातखुट्टा कामे जस्तो भयो। एकाएक आँखाबाट आँसुका धारा बग्न थाले, बल्लतल्ल आफूलाई सम्हाल्दै दुलाहाको स्वागत गर्दै जग्गेमा बसेँ। र, परम्पराअनुसार विवाह सम्पन भयो।

बाहिर झमझम पानी परिरहेको थियो, जसरी बाहिर पानीको झमझम आवाज आइरहेको थियो त्यसरी नै भित्रमेरो मन आत्तिरहेको थियो। अब अन्माउने बेला भइसकेको थियो। म सकीनसकी जग्गे घुम्दै थिएँ। एकछिन त बुबालाई अगाडि देख्दै थिएँ, तर केही क्षणमा बुबा हराउनुभयो, हजुरबुबा पनि देखिनुभएन। हजुरआमालाई काकी र भाउजुहरूले घेरेका थिए। म भने सम्हालिन सकिनँ, आमा र शारदा काकी भक्कानिँदै मलाई समाउँदै हुनुहुन्थ्यो। ज्वाइँलाई बुबाले डोर्‍याएर अन्माउनुपर्ने, तर रामशरण ठूलोबुबा र विष्णु ठूलोबुबाले डोर्‍याउनु भएको थियो।

सोचेको थिएँ अन्मिने बेलामा हाँसीहाँसी अन्मिन्छु भनेर तर जति कोसिस गर्दा पनि आफूलाई रोक्न सकिनँ ह्वाँ..ह्वाँ.. रुन आयो। म जिन्दगीमा दुईपटक त्यसरी रोएको छु, एकपटक जन्म घर छाडेर कर्म घर जान अन्मिदा र अर्कोपटक हजुरबुबाको निधन हुँदा। सिंगारिएको कारमा मलाई जबर्जस्ती रामशरण ठूलोबुबाले घुमाउनु भयो। जब तीनपटक जग्गे र कार घुमेर कारभित्र पस्न पर्ने बेला भयो मेरो पैताला कारमा चढ्न उठ्दै उठेनन्, मेरो सम्पूर्ण शरीर लुलो भयो। मलाई लाग्यो मैले टेकेको धर्ती भासिँदै छ, तर के गर्ने आखिर जानै पर्दथ्यो । रामशरण ठूलोबुबा र विष्णु ठूलोबुबाले कारमा राखिदिनुभयो। मलाई गाडीमा चढ्ने बहुत रहर लाग्थ्यो, बुबालाई अफिस लिन र घर पुर्‍याउन आउने गाडी चढ्न रहर गर्थेँ, तर बुबाले अफिसको गाडीमा कतै घुमाउन लानु हुन्नथ्यो। कहिलेकाहीँ अफिस जाने बेलामा बाटो एउटै पर्‍यो भने मात्र ल बस म बाटोमा छोडिदिन्छु भन्नुहुन्थ्यो म रमाएर गाडी चढ्थेँ । तर त्यसदिन न गाडी चढ्ने रहर आयो, न जाँगर नै।

भोलिपल्ट दुल्हन फर्काउन माइतीघर आयौँ । मलाई भने मनमा खुल्दुली चलिरहेको थियो कि हिजो मलाई अन्माउन बुबा र हजुरबुबा किन आउनु भएन? हजुरआमालाई किन घेरे अनि मेरा दुवै भाइहरू र बहिनी सिर्जना कता गए जस्ता कुराहरू। उहाँहरूले मेरो हात समातेर दुई–चार शब्द भनेर मलाई गाडीमा चढाउनु भएको भए मेरो मन त्यति धेरै रुँदैन थियो कि, त्यति धेरै छटपटी हुँदैन थियो कि भन्ने भइरह्यो। माइतीघर पुग्दा मेरो बुबा तल गेटमै कुरिरहनुभएको रहेछ । बुबालाई देखेर न त हाँस्न नै सकें, न त रुन नै एकोहोरो हेरिरहें । बुबाले स्वागत गर्दै माथि लैजानुभयो।

माथि गएपछि दुल्हन फर्काउने साइतको सबै परम्परा सकिएपछि आमाले हिजोको त्यो सब के भएको थियो, स–विस्तार बताउनुभयो। बुबा मलाई अन्माउन नसकेर भित्र कोठामा मुर्छित हुनु भएछ, हजुरबुबा बसेको कुर्सीमै डाँको छोडेर रोएर बस्नु भएको थियो रे अनि हजुरआमा बेहोस भएको कारण कोही पानी छम्कने त कोही बर्कोले हम्कँदै थिए रे। सानोबुबा, भाइहरू र बहिनी कुनातिर बसेर रुँदै थिए रे। त्यसैले मलाई अन्माउन सकिनसकी मेरो आमा, काकीआमा र ठूलोबुबाहरू आउनु भएको रहेछ।

मैले सानोमा गाउँघरमा सुनेको थिएँ, छोरी पराई घरमा जान पर्दछ र छोरीका लागि माइतीघर र कर्मघर दुबै पराई घर हुन्छ भनेर तर त्यो होइन रहेछ। मनमा सधैं लागिरहन्थ्यो अब म विवाह भएर घर गएपछि मेरो हजुरबुबा, हजुरआमा, बुबा, आमा, भाइहरूले पहिलाको जस्तो माया प्रेम गर्दैनन् होला भनेर। त्यस्तो होइन रहेछ, झन् माया त गाढा पो हुँदो रहेछ । विवाहभन्दा पहिले अफिस गएर आउँदा होस् वा कतै बाहिर गएर आउँदा होस्, साँझ ६ बजेसम्म घर नपुगे बुबाले बारबार कहाँ आइपुग्यौ छोरी भन्दै पाँच-पाँच मिनेटमा फोन गर्ने अब नगर्ने पो हो कि भनेर मनभित्र डरैडर थियो। तर बुबाले दैनिक ६ बजेभित्र छोरी घर पुग्यौ भनेर फोन गर्नुहुन्छ। फरक यति रहेछ कि हिजोसम्म कहाँ आइपग्यौ भन्ने बुबा मलाई अन्माएर पठाएको दिनदेखि घरपुग्यौ भन्न थाल्नु भयो।

हिजोसम्म खाना खान छिटो आऊ भन्ने बुबा आजबाट खाना पकायौं ? सबैलाई खुवाएयौं? अनि तिमीले राम्रोसँग खायौ? भन्न थाल्नु भयो। सायद यही त होला फरक।

आज विवाह भएको १० वर्ष भयो, मैले गाउँमा सुनेका ती सब कुरा सत्य होइन भन्नेमा पूर्ण विश्वस्त छु। म भित्रिएको घरमा पनि मेरो बुबाआमा जस्तै मलाई स्वागत गर्न ससुराबुबा र सासूआमा बस्नु भएको थियो। उहाँहरूले छोरी अन्माएर पठाउनुभयो अनि मलाई भित्र्याउनु भयो, फरक के छ र उही त हो नि। त्यहाँ पनि मलाई माइतीमा माया गर्ने दिदीबहिनी जस्तै नन्दआमाजू थिए, जो भाउजू भित्र्याउन पाउँदा अत्यन्तै खुसी र प्रफुल्ल थिए। त्यतिमात्र हैन, त्यहाँ हजुरबुबा हजुरमुआ पनि हुनुहुन्थ्यो, जसले मलाई नातिनीकै व्यवहार गर्नुहुन्छ।

त्यसैले सामाजिक परम्परा रीतिरिवाज मात्र होइन कि सृष्टिको नियमलाई नियमित राख्न पनि त छोराछोरीको विवाह गर्नै पर्याे। पूर्वीय समाजमा छोरालाई अन्माएर अर्को घरमा पठाएको थाहा छैन, एक न एकजना त अन्मिनै पर्यो। जन्मिएको घर छोड्नै पर्यो। त्यो छोड्ने काम परम्परादेखि छोरीको भागमा पर्यो के गर्ने? विवाह भएको १० वर्षबीचमा यी सबै अनुभूति भएको हो मलाई पनि।

तर जतिसुकै बुझेको भए पनि विवाहको दिन माइतीघर छाडेर डोली चढ्न वा कार चढ्न कति कठिन हुन्छ भन्ने कुरा बेहुली भएकालाई मात्र थाहा हुन्छ। मलाई पनि भएको थियो कि यो कारमा नचढी भागौँ कि क्या हो, चिच्याएर जान्न भनौं कि क्या हो, तर सकिएन भन्न र भाग्न पनि। आज त्यही घरमा रमाएको छु, हजुरबुबा त बित्नुभयो, हजुरआमा, बुबा र आमा असाध्यै खुसी हुनुहुन्छ। भाइहरू मसँग भन्दा भिनाजुसँग गफिन्छन्। ससुराबा, सासूआमा, नन्दहरू र श्रीमान् साह्रै सहयोगी हुनुहुन्छ। छोरी जन्मिएर पारिवारिक फुलबारीमा छुनुमुनु गर्छिन्, झन् अब त मेरो सबैभन्दा मिल्ने प्यारो साथी भएकी छिन्, त्यै घर साह्रै रमाइलो भएको छ। जिन्दगीको यात्रा यस्तै त रहेछ, अझ अगाडि कसरी बढ्ने हो थाहा छैन।

-शशी तिमल्सिना थापा

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?