अरबी महिलाहरुको मोटोपनाबारे समाचार लेख्ने पत्रिकाविरुद्ध उजुरी दिँदै अभिनेत्री इनास 


साउन २७, एजेन्सी । इराकी अभिनेत्री इनास तालेबले ब्रिटेनको प्रतिष्ठित पत्रिका द इकोनोमिस्टविरुद्ध कानुनी मुद्दा लड्ने घोषणा गरेकी छन्। पत्रिकामा हालैमात्र छापिएको एक लेख अरब विश्वका महिलाकाबारेमा लेखिएको थियो। जसमा अरबी महिलाहरू पुरुषको तुलनामा ‘मोटा’ हुने दाबी गरिएको थियो।

‘अरब विश्वमा पुरुषको तुलनामा महिलाहरू अधिक मोटो किन हुन्छन्?’ शीर्षकको लेखका लागि इनासको तस्बिर प्रयोग गरिएको थियो। उनले आफ्नो तस्बिर प्रयोग गरिएको भन्दै कानुनी बाटो अपनाउने घोषणा गरेकी हुन्।

इराककी लोकप्रिय अभिनेत्री र टक शोकी होस्टसमेत रहेकी इनासले एक अन्तर्वार्तामा आफ्नो अनुमतिविना नै तस्बिर प्रयोग गरिएको बताइन्। उनले आफ्नो गोपनीयताको उल्लंघन भएको दाबी गरेकी छन्। उने तस्बिरमा फोटोसप गरिएको बताएकी छन्।

यो लेख गत जुलाईको अन्त्यमा प्रकाशित भएको थियो। जसमा इनासको तस्बिर राखिएको थियो। उनको त्यो तस्बिर नौ महिना पुरानो बेबिलोन इन्टरनेसनल फेस्टिभलमा खिचिएको थियो।

लेखमा गरिबी र महिलाहरूलाई घरबाट निस्कन लगाइएको प्रतिबन्धका कारण पुरुषको तुलनामा अरब महिलाहरूको तौल अधिक हुने दाबी गरिएको थियो।

इनासले लेखले अरब महिला र विशेष गरी इलाकी महिलाको अपमान गरेको बताएकी छन्। ४२ वर्षकी इनास इराकको लोकप्रिय अभिनेत्री हुन्। जसको इन्स्टाग्राममा ९० लाख बढी फलोअर्स छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?