मेयर बालेनज्यू, ‘तपाइँ असफल हुनु भएन’
साउन २९, काठमाडौँ ।
मेयरज्यू
काठमाडाैँ महानगरपालिका
तपाइँ असफल हुनु भएन ।
१. तपाइँलाई काठमाडाैँका जनताले त्यसै मेयरमा जिताएका होइनन्। यो विषयमा ख्याल गर्नुहुने नै छ।
२. काठमाडाैँ एउटा महानगरपालिका मात्र होइन देशको राजधानी शहर पनि हो। यसका आफ्नै किसिमका ऐतिहासिक र सांस्कृतिक मूल्य मान्यता पनि छन्। यिनको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँको काँधमा आएकोछ।
३. राजनीति ‘जनताको लागि’ गरिनु पर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘जनताउपर’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति जनता निराश भएको अवस्था छ।
४. तपाइँको चुनाव घोषणापत्रमा उल्लेख भएअनुसार पनि फोहोरको व्यवस्थापन प्राथमिकतामा परेको देखिन्छ। तर यति लामो समयसम्म पनि यसमा प्रगतिका खास लक्षणहरु देखिन नपाएको कारण तपाइँप्रति जनता निराश हुन थालेको देखिन्छ। जनताको स्वास्थ्य र देशको प्रतिष्ठासँग समेत जोडिएको फोहोर व्यवस्थापनको विषयप्रति मेयरज्यू पक्कै पनि सम्वेदनशिल हुनु नै हुन्छ होला।
५. फोहोर व्यवस्थापनमा विगतदेखि नै दलगत राजनीतिक खिचातानी हुँदै आएको हो। अहिले पनि त्यो भइरहेको देखिन्छ। त्यसैले मेयरज्यूले सम्वेदनशिल भएर काम गरी यो समस्याको शीघ्र समाधान खोज्नु पर्यो। यसका लागि–
(क) विज्ञहरुसँग निरन्तर छलफल गर्नुपर्याे र कुन स्तरमा छलफल भइरहेकोछ त्यसको जानकारी नियमित रुपमा जनतालाई गराइरहनु पर्याे।
(ख) पार्टीका प्रतिनिधिहरुसँग पनि नियमित छलफलमा रहनुपर्यो र यसबारे पनि जनतालाई जानकारी गराउनु पर्यो ताकि जनताले के भइरहेको छ भन्ने थाहा पाउन सकियोस्।
(ग) फोहोर फालिने क्षेत्रका जनतासँग पनि निरन्तर छलफलमा रहनुपर्याे। पुरा गर्न सक्ने माग पूरा गर्नु पर्याे र गर्न नसकिने माग गर्न सकिँदैन भन्नुपर्याे। यसको जानकारी पनि जनतालाई दिइरहनु पर्याे।
(घ) छिमेकी नगरपालिकाहरुसँग पनि छलफल र सहयोग आदानप्रदान गर्नु पर्याे।
(ङ) विज्ञहरुको सहयोग समेतका आधारमा संघीय सरकारसँगको समन्वयमा फोहोर व्यवस्थापनको अल्पकालीन‚ मध्यकालिन र दीर्घकालीन योजना र त्यसको कार्यान्वयन खाका बनाई सार्वजनिक गर्नुपर्याे। अनि सोही कार्ययोजना अनुरुप काम गरी प्रगति सार्वजनिक गर्ने परिपाटी बसाल्नु पर्याे।
६. राजधानी शहरको मेयरले संयमता र सुझबुझ पनि देखाउन सक्नु पर्याे। अदालतले दिएका आदेशउपर सार्वजनिक प्रतिक्रिया दिनुभन्दा कानुनबमोजिमको सबूद प्रमाणसहित प्रक्रियामा जाने गर्नु पर्याे। अदालतले गरेका फैसला र आदेशउपर तल्लो स्तरको प्रतिक्रिया दिनका लागि देशका कम्युनिष्ट हौं भन्ने नेताहरु पर्याप्त छन्। त्यस्ता विषयमा प्रतिस्पर्धा गर्न थाल्नु भयो भने तपाइँको असफलता निश्चित छ।
७. तपाइँसँग हामी जनताले ठूलो आशा र भरोसा गरेका छौं। हामी तपाइँबाट राम्रा कामकुराको मात्र आशा गर्छौं। हाम्रो आशा र भरोसामा तुषारापात हुने छैन भन्ने विश्वास छ।
(लेखक शारदाप्रसाद त्रिताल नेपाल सरकारका पूर्वसचिव हुन्।)