एक सय १० वर्ष पुरानो क्लबमा ऋचाको विवाह पार्टी
भदौ ३०, मुम्बई । कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन्। उनीहरूले आगामी ६ अक्टोबरमा विवाह गर्दैछन्। उनीहरूको विवाहको तयारी निकै भव्य किसिमले भइरहेको छ।
उनीहरूको विवाहको कार्यक्रम ३० सेप्टेम्बरबाट सुरु भएर ७ अक्टोबरसम्म चल्नेछ। ऋचाले वेडिङ आउटफिटका लागि पाँच अलग–अलग डिजाइनर छनोट गरेकी छन्। सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ को छायांकनसँगै ऋचाले विवाहको तयारी पनि गरिरहेकी छन्।
ऋचा र अलिको पाँच अलग अलग वैवाहिक कार्यक्रम हुने भएकाले पाँच डिजाइनर छनोट गरिएको हो। उनीहरूले विवाह पार्टीका लागि भारतमा रहेको सबैभन्दा पुरानो क्लब दिल्ली जिमखाना क्लब छनोट गरेका छन्। यो क्लब एक सय १० वर्ष पुरानो क्लब हो।
ऋचा र अलि आफ्ना परिवार तथा नजिकका साथीको उपस्थितिमा मुम्बईमा निजी समारोहमा विवाह गर्दैछन्। त्यसपछि उनीहरुले नयाँदिल्ली र मुम्बईमा पार्टी दिनेछन्।