भोजपुरी सुपरस्टार पवन सिंहविरुद्ध श्रीमतीको उजुरी


कार्तिक १२, मुम्बई । भोजपुरी फिल्म उद्योगका सुपरस्टार पवन सिंहलाई स्थानीय अदालतले नोभेम्बर ५ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ। पवनकी श्रीमती ज्योति सिंहले भरण पोषणका लागि अदालतमा निवेदन दिएपछि यही मामलामा अदालतले अभिनेतालाई उपस्थित हुन आदेश दिएको हो।

गत अप्रिल, २०२२ मा पवन सिंहले पत्नी ज्योतिसँग सम्बन्धविच्छेद गर्न बिहारको आरा कोर्टमा निवेदन दिएका थिए। यही निवेदनमाथि एक महिनाको सुनुवाइपछि अदालतले आपसमा मामला सुल्झाउन सल्लाह दिएको थियो। तर, पवन र ज्योतिबीच कुरा मिल्नुको सट्टा मामला झन बढ्दै गएको थियो।

ज्योतिले बलियाको फेमिली कोर्टमा भरणपोषणका लागि पवनविरुद्ध उजुरी दिएकी थिइन्। अदालतले पवनलाई तीनपटक उपस्थितिका लागि तारिख दिए पनि उनी अहिलेसम्म पुगेका छैनन्। ज्योतिका वकिल पियुष सिंहका अनुसार अदालतले पवनलाई नोभेम्बर ५ मा उपस्थित भएर आफ्ना कुरा राख्न भनेको छ।

पवनले सन् २०१४ मा निलमसँग विवाह गरेका थिए। तर मार्च २०१५ मा निलमले आत्महत्या गरेकी थिइन्। यद्यपि आत्महत्याको कारण थाहा हुन सकेको थिएन। निलमकी बहिनीले पवन काममा व्यस्त भएर समय दिन नसकेपछि दिदीले आत्महत्या गरेको दाबी गरेकी थिइन्। त्यसपछि पवनले २०१८ मा ज्योतिसँग विवाह गरेका थिए।

पवनले अदालतमा सम्बन्धविच्छेदको निवेदन दिँदै आफू पत्नीसँग बस्न नसक्ने जानकारी दिएका थिए। ज्योतिले भने आफूलाई पवनले प्रताडित गरेको आरोप लगाएकी थिइन्। ज्योतिले आफूलाई पवनले कुटपिट र गालीगलोजका साथै विवाह पछि दुई पटक गर्भपतन गराएको आरोप लगाएकी थिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?