फिल्म हिट बनाउन नायिका मनिषाको ‘निधन’को हल्ला चलाइयो
कार्तिक १७, मुम्बई । फिल्म हिट बनाउन प्रमोसनको उत्तिकै आवश्यकता पर्छ। एक समय थियो, जहाँ फिल्मको प्रमोसन पोस्टर र होडिङ बोर्डबाट गरिन्थ्यो। तर, आजको समय साउथदेखि लिएर बलिउडका स्टार पनि फिल्मको प्रमोसनका लागि विभिन्न स्थानमा भएका कार्यक्रममा पुग्छन्। जसका लागि पानी सरह पैसा खर्च गरिन्छ। अहिलेका निर्माताहरु फिल्म हिट गराउनका लागि सीमा नै नाघ्छन्।
२८ वर्षअघि रिलिज भएको फिल्म ‘क्रिमिनल’ को समयमा पनि फिल्मका निर्माताले सीमा नाघेका थिए। सन् १९९४ मा रिलिज यो फिल्ममा मनिषा कोइराला प्रमुख भूमिकामा थिइन्। फिल्ममा उनीसहित नागार्जुन, राम्या कृष्णन र जोनी लिभर पनि थिए। महेश भट्ट निर्देशित फिल्ममा मुकेश भट्ट निर्माता थिए।
यो फिल्म हिट बनाउन निर्माताले झुटको सहारा लिनु परेको थियो। जुन झुटमा फ्यान दुःखी बनेका थिए। निर्माताले फिल्मको प्रमोसनका क्रममा मनिषाको निधनको खबर सार्वजनिक गरेका थिए।
निर्माता आफ्नो फिल्मको बारेमा जोकोहीले थाहा पाउन भन्ने चाहन्थे। त्यसका लागि मनीषाको निधनको झुटो खबर सहारा लिए । फिल्ममा मनिषाको निधन हुने भएकाले निर्माताले प्रमोसनमा मनिषाकै मृत्युको झुटो खबरलाई प्राथमिकता दिएका थिए। यो खबरलाई फ्यान मात्र होइन, बलिउडका सेलिब्रेटीले नै सत्य मानेका थिए।
तर, निर्माताको यो निर्णय आफ्नै लागि घातक बन्यो। किनकि जब मानिसहरूले सत्य थाहा पाए, तब फिल्मप्रति उनीहरु भड्किए। दर्शकले फिल्मलाई ‘घटिया’ बताएपछि फिल्म फ्लप साबित भयो।
‘क्रिमिनल’ हलिउड फिल्म ‘द फुगिटिभ’को हिन्दी रिमेक थियो। फिल्मको कथा पत्नीको हत्या आरोप लागेका एक डाक्टरमा केन्द्रित थियो।