भोजपुरी अभिनेत्री अक्षरा प्रहरीको फरार सूचीमा
कार्तिक २५, मुम्बई । भोजपुरी अभिनेत्री अक्षरा सिंह प्रहरीको ‘फरार’ सूचीमा परेकी छन् । प्रहरीले उनको पटनास्थित घर बाहिर ‘फरार’ पोस्टर टाँसेको छ।
यो मामिला सन् २०२१ को हो। सन् २०२१ अप्रिलमा अक्षरा बाहुबली मुन्ना शुक्लाको डान्स पार्टीमा सहभागी थिइन्। डान्स पार्टीमा कैयौं नियम उल्लंघन भएपछि त्यहाँ फायरिङसमेत भएको थियो।
उक्त डान्स पार्टीविरुद्ध दर्ता भएको एफआईआरमा अक्षरालाई पनि अभियुक्तका रूपमा प्रस्तुत गरिएको थियो। एफआईआर दर्ता भएपछि अक्षरा फरार थिइन्। उनलाई दुई महिनाअघि मात्र यो मामलामा अदालतबाट गैर जमानती वारेन्ट जारी गरिएको थियो। जसकारण उनी फरार रहेको पोस्टर प्रहरीले प्रकाशन गरेको हो।
लालगन्ज थानाका प्रहरीले अक्षराको घरमा फरार पोस्टर टाँसेका छन्। जौनपुरको बदलापुरमा भएको दुई दिवसीय बदलापुर महोत्सवमा पनि अक्षरामाथि ढुंगा प्रहार भएको थियो।
अक्षराका वकिल अमरेन्द्र कुमारले भने आफूलाई यस विषयमा कुनै सूचना नआएको बताएका छन्। उनले घरमा पोस्टर टाँसिएको जानकारी आफूले सामाजिक सञ्जालमार्फत थाहा पाएको दाबी गरेका छन्।
‘अक्षरा सिंह भारतको संविधान र कानूनप्रति आस्थावान छिन्। यही कारण उनले यो मामलाको सन्दर्भमा एन्टी सिपेटरी बेलका लागि आवेदन दिएकी छन् । उनको यो आवेदनमा नोभेम्बर १७ मा सुनुवाई हुनेछ’, उनले भनेका छन्।