हिमाल पारी कांग्रेसको एकलौटी
मंसिर ६, मनाङ। हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन्। मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र प्रदेशसभाको एक सीटमा कांग्रेस उम्मेद्वार विजयी भए। मनाङको एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेद्वार सर्वसम्मत भएका थिए।
मुस्ताङको प्रतिनिधि सभा सदस्यमा कांग्रेसका २९ वर्षे योगेश गौचन थकाली विजयी भए। उनले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत मात्रै पाएका छन्। प्रदेश सभा (क) बाट कांग्रेसकै नम्डु गुरुङ विजयी भए। नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी एमाले इन्द्रधारा विष्टले ७ सय ९३ मत पाए।
प्रदेश (ख) मा कांग्रेसका विकल शेरचन निर्वाचित हुँदा एमालेका चन्द्रमोहन गौचन पराजीत भए। उनले गौचनलाई १ सय ५८ मत अन्तरले हराएका हुन्। शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए। योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ।
मनाङको प्रतिनिधि सभा सदस्यमा कांग्रेसकै टेकबहादुर गुरुङ विजयी भए। निवर्तमान सांसद एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय ३८ मत अन्तरले हराए। टेक बहादुरले २ हजार ५ सय ७५ मत पाउँदा पोल्देनले २ हजार २ सय ४७ मत पाएका छन्।
प्रदेश सभा (क) मा कांग्रेसकै मुनिन्द्र जंग गुरुङले चुनाव जिते। मुनिन्द्रले एमालेका राजन गुरुङलाई ३ सय ३० मत अन्तरले हराए। मुनिन्द्रको १ हजार २ सय ५५ मत आउँदा राजनले ९ सय २५ मत मात्रै पाए। मनाङको प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेद्वार राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद बनिसकेका छन्। उनी निर्विरोध निर्वाचित भएका हुन्।