राप्रपाका चार उम्मेदवारको अग्रता, समानुपातिकको मतले राष्ट्रिय पार्टीको टुंगो


मंसिर ६, काठमाडाैँ। प्रतिनिधिसभामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रै सिट हासिल गर्ने देखिएको छ। मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये चारवटामा राप्रपाले अग्रता हासिल गरेको छ।

२०७४ को निर्वाचनमा राप्रपाले एक सिट जितेको थियो। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट चुनाव जितेका थिए। तर, समानुपातिकमा राप्रपाले थ्रेस होल्ड कटाउन नसक्दा राप्रपा राष्ट्रिय पार्टी बन्न असफल रह्यो।

तर, यसपटक राप्रपाले प्रत्यक्षमै धेरै सिट जित्ने प्रारम्भिक अनुमान गरिएको छ। राप्रपा अध्यक्ष लिङ्देन झापा ३, महामन्त्री धवलशमशेर जबरा बाँके १, नेता ध्रुवबहादुर प्रधान नवपरासी १ र ज्ञानेन्द्र शाहीले जुम्लामा अग्रता हासिल गरेका छन्। जसमध्ये लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलासँग करिब एक हजार मतको अग्रता बनाएका छन्। तर, राणा, प्रधान र शाही भने प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरैले अघि छन्।

राप्रपाले प्रत्यक्षमा धेरै सिट जिते पनि ३ प्रतिशतको थ्रेसहोल्ड भने कटाउनै पर्छ। उसले यसपटक समानुपातिकमा पाँच लाखभन्दा बढी मत आउने अपेक्षा गरेको छ। तर, अहिलेसम्मको समानुपातिक मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैलाई आश्चर्यमा पारेको छ। उसले एमाले र कांग्रेसलाई सिधा टक्कर दिइरहेको छ। यदि राप्रपाले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय पार्टी मात्र होइन, एउटा बलियो शक्तिका रूपमा संसदमा उपस्थित हुने सम्भावना प्रबल छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?