ललितपुर–१ मा चार हजार ६ सय १४ मतान्तरले उदयशम्शेर विजयी
मंसिर ७, काठमाडौँ । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गरे।
यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए। २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार नौ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार सात सय २९ मत प्राप्त गरेका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार दुई सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार छ सय ४१ मत प्राप्त गरे। कुल ७४ हजार तीन सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार सात सय ७३ मत खसेको थियो। खसेको मतमध्ये एक हजार आठ सय दुई मत बदर भएको छ भने ४८ हजार सात सय ८१ मत सदर भएको छ।