बिदा भए खोटाङका म्यादी प्रहरी


मंसिर ८, खोटाङ। निर्वाचनका लागि नियुक्ती भएका म्यादी प्रहरी बिदा भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत ३० असोजमा नियुक्ती भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ बिदा गरिएको हो।

निर्वाचनको सुरक्षार्थ खटाउनका लागि खोटाङमा भर्ना गरिएका एक हजार १७६ जना म्यादी प्रहरीलाई विदा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए।

४० दिनका लागि भर्ना गरिएका म्यादी प्रहरीले ड्युटीका क्रममा बोकेका लठ्ठी बुझाएर प्रमाण–पत्र बुझेर घर फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय हलेसी, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, इलाका प्रहरी कार्यालय बाक्सिला, इलाका प्रहरी कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय चिसापानीलगायतका यूनिटबाट म्यादी प्रहरीको बिदाई गरिएको छ। दिक्तेलबजारमा विजय जुलुस निकालिइरहँदा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको भव्य विदाई भइरहेको थियो।

घर फर्कंन लागेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सामुहिक तस्बिर कैंद गरिरहेको दृश्य देखिएको थियो। कतिपयले सेल्फी खिचिरहेका थिए। कतिपयले म्यादी प्रहरीको रुपमा काम गर्न ‘मज्जा भएको’ प्रतिक्रिया दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?