पत्ता लाग्यो एडिलेडमा हजारौँ माछाहरू एकै पटक मर्नुको कारण


मंसिर १२, मेलबर्न अष्ट्रेलिया । प्राथमिक उद्योग तथा क्षेत्र विभाग (पिर्सा) ले एडिलेडको सेमाफोरको समुन्द्री किनारमा पाइने कम ज्वारभाटा र गर्मीका कारण हजारौं माछा मरेको पत्ता लगाएको छ।

शुक्रबार पोर्ट माल्कम नजिकै शुक्रबार सानो प्रजातिका सयाैँ माछाहरू मरेको अवस्थामा फेला परेका थिए। समुद्री तटमा गएकी केट म्याकअलिफले यति धेरै मरेका माछाहरू देखेर अचम्मित भएको र तैरिइरहेका माछाहरूलाई बचाउने प्रयास गरेको पनि बताइन्।

पिर्साका जलीय कृषि महाप्रबन्धक शेन रोबर्ट्सका अनुसार कर्मचारीहरूले शुक्रबार पानीको नमूना सङ्कलन गरे जसमा पानी २८ डिग्री सेल्सियस रहेको देखिएको थियो।

अत्यन्तै खराब स्तरको पानी धमिलो र अक्सिजन लेभल जम्मा ३० प्रतिशत भएका कारण ती माछाहरू मरेको उनले बताएका छन्। गर्मिको समयमा पानीमा अक्सिजनको तह चाँडै कम हुने उनले बताएका छन्।

डा रोबर्ट्सले पिर्साले राज्यभरि प्रत्येक वर्ष औसत १५ देखि २० प्रजातिका माछा मर्ने अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। प्राउः खराब माैसम, घातक फूलहरू लगायत अन्य वातावरणीय कारणले माछाहरू मर्ने गरेको उनले बताएका छन्।

पिर्साले असामान्य रूपमा माछाहरू मरेको देखेमा FISHWATCH लाई 1800 065 522 मा सम्पर्क गर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?