चालकले मोबाइल फोन चलाएको पत्ता लगाउने नयाँ प्रविधि प्रयोग गर्दै साउथ अष्ट्रेलिया


Photo : 9News

मंसिर १५, मेलबर्न अष्ट्रेलिया । साउथ अष्ट्रेलियामा सवारी साधन चलाइरहेको बेलामा चालकले मोबाइल फोन चलाएको पत्ता लगाउनका लागि नयाँ प्रविधिको प्रयोग गरिने भएको छ। साउथ अष्ट्रेलियाको संसदले बिल पास गरेसँगै अब नयाँ प्रविधि प्रयोग गरिने भएको हो।

राज्य सरकारले मोबाइल फोन डिटेक्सन क्यामेरा(एमपिडिसि) प्रयोग गरेर चालकमाथि निगरानी राख्ने भएको छ। ठूलो रकम खर्च गरिने यस प्रविधिले दूर्घटना न्युनीकरण गर्ने र जरिबाना असुल गरिएको पैसाबाट सडक सुरक्षामा लगानी गरिने बताइएको छ।

गत वर्ष राज्यभरीमा मोबाइल फोन चलाउँदै वा ध्यान एकीकृत नगरी सवारी चलाउने ३० हजारभन्दा बढी चालकहरूलाई सरकारले पत्र काटेको थियो।

साउथ अष्ट्रेलियन प्रहरीका अनुसार सडकमा दुर्घटना हुने र गम्भीर चोटपटक हुने दुर्घटनाको प्रमुख कारण चालकले ध्यान अर्कैतर्फ मोड्नु पनि एक हो।

मोबाइल फोन पत्ता लगाउने क्यामेराहरू पहिले नै न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा सञ्चालन भइसकेका छन्। भिक्टोरियामा यसको परीक्षण भइरहेको छ।

साउथ अष्ट्रेलिया प्रहरी सहायक आयुक्त इयान पारोटले खतरनाक ड्राइभिङ व्यवहारलाई कम गर्न शिक्षासँगै क्यामेराले प्रमुख भूमिका खेल्ने बताए।

आगामी वर्षको अन्त्यसम्ममा नयाँ क्यामेरा सञ्चालनमा आउने राज्य सरकारले जनाएको छ। पहिले तीन महिनाको ग्रेस अवधि हुनेछ। उक्त समयमा पक्राउ परेका चालकहरूलाई शैक्षिक सामग्री पठाइनेछ र त्यसपछि भने जरिबाना सुरू गरिनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?