दोलखाको मतगणना रोचक बन्दै, शिवाकोटीले घटाए मतान्तर


मंसिर १९, काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन्। सोमबार विहानसम्मको मतगण्ना अनुसार कार्कीले ३३ हजार ६ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत पाएका छन् । माओवादीका कार्की १८३ मतले अगाडि छन्।

आइतबार राति १८ सय मतान्तरले पछाडि परेका शिवाकोटीले सोमबार विहानसम्म मतान्तर घटाएर १८३ पुर्याएका छन्। शुक्रबारदेखि सुरु भएको मतगणनामा कार्कीले अग्रता लिएका थिए । तर शनिबार रातिदेखि एमाले उम्मेदवार शिवाकोटी अगाडि लागे । आइतबार अपरान्हतिर कार्कीले शिवाकोटीलाई उछिने । सोमबार विहानसम्म कार्कीको अग्रता कायम छ।

अब विगु गाउँपालिका १ को लामावगर, २ को ओराङ र ३ बुलुङको मत गन्न बाँकी छ। यस्तै शैलुङ गाउँपालिका १ को दुधपोखरी र २ को भुषाफेदा तथा मेलुङ गाउँपालिका १ को पवटी र ३ माथिल्लो घ्याङको मत गन्न बाँकी छ।

दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन्। जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकोमा ८५ हजार तीन सय ८८ खसेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?