अष्ट्रेलियामा युवा तथा विद्यार्थीहरूको कल्याणकारी भुक्तानीमा २५ वर्षकै सबैभन्दा धेरै वृद्धि


मंसिर १९, मेलबर्न अष्ट्रेलिया । हेरचाहकर्ता, विद्यार्थी र युवाहरूले आफ्नो कल्याणकारी भुक्तानीहरूमा दशककै सबैभन्दा उच्च वृद्धि प्राप्त गर्ने भएका छन्। यो वृद्धि एक महिनाभन्दा कम अवधिबाट नै लागु हुने भएको छ।

युवा भत्ता, अस्टडी र हेरचाह भुक्तानी प्राप्त गर्ने व्यक्तिहरूको लागि अर्को वर्ष जनवरी १ देखि इन्डेक्सेसन ६.१ प्रतिशतले वृद्धि हुने भएको छ।

युवा भत्ता पाक्षिक (१५ दिन) १९.१० डलरदेखि ४१.४० डलरसम्म, विद्यार्थी भत्ता ३२.४० देखि ४१.४० डलरसम्म बढ्ने बताइएको छ। यो १९९८ पछि युवा भत्ता भुक्तानीमा सबैभन्दा ठूलो वृद्धि हो।

२१ वर्ष मुनिका बालबालिकाहरूले असक्षमता समर्थन निवृत्तिभरण र असक्षमता पूरक सहित प्रति १५ दिनमा २७.४० देखि ४०.७० डलर बीचको भुक्तानी वृद्धि प्राप्त गर्नेछन्।

सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थले इन्डेक्सेसन वृद्धिले विशेष गरी युवा अष्ट्रेलियालीहरूले सामना गर्ने जीवनयापन लागतको तनावलाई कम गर्न मद्दत गर्ने बताइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?