अर्जेन्टिना र क्रोएसियामध्ये को पुग्ला विश्वकपको फाइनलमा ? यस्तो छ अहिलेसम्मको नतिजा


मंसिर २७, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

अहिलेसम्म अर्जेन्टिना र क्रोएसियाबिच पाँच पटक भिडन्त भएको छ। जसमा २-२ पटक अर्जेन्टिना र क्रोएसिया नै विजयी भएका छन्। त्यस्तै, सन् १९९४ मा खेलिएको पहिलो मैत्रिपूर्ण खेलमात्रै गोल रहित बराबरीमा सकिएको छ।

त्यस्तै, विश्वकपमा अहिलेसम्म भएका अर्जेन्टिना र क्रोएसियाका खेलहरू एक एक पटक दुबै टोलीले जितेका छन्। सन् १९९८ को विश्वकप खेलमा अर्जेन्टिनाले १-० गोलको जित निकालेको थियो। त्यस्तै, २०१८ को विश्वकप खेलमा क्रोएसियाले अर्जेन्टिनालाइ ३–० गोल अन्तरले हराएको थियो।

यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?