वान एक्स बेटमार्फत सट्टेबाजी गराउने गौली पक्राउ


पुस १, काठमाडौँ । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने अर्का युवक पक्राउ परेका छन्।

फिफा विश्वकपलगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा बेटिङ एप्लिकेसनलगायतका एप्समार्फत सट्टेबाजी गराई रकम संकलन गराउने कार्य गरिरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार काठमाडौंको कमलपोखरीबाट लमजुङको सुन्दरबजार घर भएका सुजन गौलीलाई पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा गौलीले इसेवा, आईएई पे, खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत हालसम्म दुई करोड ३६ लाख ३३ हजार बराबरको कारोबार गरिएको देखिएको प्रहरीले जनाएको छ। यस्तै, अन्य २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत सात करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ।

प्रहरीले उनको साथबाट आईफोन एक थान, सामसुङ कम्पनीको मोबाइल एक थान, एनटिसीको मोबाइल सिमकार्ड दुई थान, एनसेलको दुई थान, स्मार्टको सिमकार्ड एक थान, युएईको सिमकार्ड एक थान, नबिल बैंकको चेक र ग्लोबल आईएमई बैंकको भिसा कार्ड एक थानसमेत बरामद गरेको एसपी कोइरालाले भने। यसअघि प्रहरीले वानएक्ट बेटिङ गरेको आरोपमा आदर्श ठाकुरलाई पक्राउ गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?