अर्जेन्टिना पुग्यो विश्वविजेता टोली, राजधानीमा समर्थकको भव्य स्वागत (फोटोफिचर)


पुस ५, काठमाडौँ । अर्जेन्टिनाको विश्वकप विजेता टोली मंगलबार राजधानी पुगेको छ। मंगलबार सबेरै विश्वकप ट्रफीसहित ब्यूनस आयर्स पुगेको टोलीलाई समर्थकहरूले भव्य स्वागत गरेका थिए।

कप्तान लियोनेल मेसी विश्वकप ट्रफी सहित सबैभन्दा पहिले विमानबाट ओर्लिएका थिए। त्यसपछि त्यसपछि उनको विजयी टोलीले एयरपोर्टको रेड कार्पेटमा यात्रा गरेको थियो।

टिम बस एयरपोर्टबाट निस्कने बित्तिकै निलो र सेतो राष्ट्रिय रंगको पोशाक लगाएका समर्थकहरूले हर्षोल्लास गर्दै आएका थिए। भिडियोहरूमा पुलिस इस्कर्टको पछाडि बिस्तारै बस अगाडि बढेको देखिएको छ। हजारौं मानिसहरूले अर्जेन्टिनाको झण्डा फहराउँदै र रातमा पटाकाहरू पड्काइरहेका छन्।

आइतबार कतारमा फ्रान्स विरुद्धको रोमाञ्चक पेनाल्टी शुटआउटमा विजय भएपछि टोलीको विजय परेडका लागि अर्जेन्टिनामा राष्ट्रिय बिदा घोषणा गरिएको छ। यसैका कारण राजधानीमा समर्थकको ठूलो भिड देखिएको छ।

अर्जेन्टिनाको टोलीले पहिले अर्जेन्टिना फुटबल संघको प्रशिक्षण मैदानमा आराम गर्ने बताइएको छ। टोलीको आगमन अघि सोमबार प्रशिक्षण स्थलमा समर्थकहरूको बाक्लो उपस्थिति थियो। फ्रान्सविरूद्ध जित निकालेसँगै अर्जेन्टिनाका राजधानीका सडकहरू सार्थकले भरिएका थिए।

कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको ट्रफी उचालेको थियो। अहिलेसम्म कै रोमाञ्चक भनिएको फाइनल खेल पेनाल्टीमार्फत छिनोफानो भएको थियो।

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको २२औं संस्करणमा कब्जा जमाएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?