जोनीलाई १ मिलियन डलर दिँदै एम्बर
पुस ५, लसएञ्जल्स । हलिउड अभिनेत्री एम्बर हर्डले अभिनेता तथा पूर्वपति जोनी डेपसँग लामो समयदेखि चलिरहेको कानुनी लडाईंलाई समाधान गर्नका लागि १ मिलियन डलर भुक्तान गर्ने भएकी छन्। एम्बरले जोनीमाथि घरेलु हिंसाको आरोप लगाएपछि अदालतमा यो मुद्दाले प्रवेश पाएको थियो।
यो बीचमा उनीहरूबीच कैयौं नयाँ कुरा आए र मुद्दा पनि बढ्दै गयो। यसैवर्षको सुरुवातमा भर्जिनियामा भएको ५ हप्ता लामो ट्रायलपछि रकम भुक्तान गर्न अदालतले आदेश दिएको थियो।
यता जोनीका वकिलले भने एम्बरबाट प्राप्त पैसालाई जोनीले दान गर्ने बताएका छन्। उनले जोनीका लागि पैसा कहिल्यै महत्वपूर्ण नरहेको दाबी गरेका छन्।
अभिनेत्रीले भने सम्झौताले आगामी मुद्दालाई जोगाउने बताएकी छन्। आफूलाई विवाहबाट मुक्त गर्नका लागि पनि सम्झौताले सहयोग गरेको उनको भनाइ छ।