साढे ५ किलो कोकिनसहित दुई विदेशी महिला काठमाडौँबाट पक्राउ
पुस ८, काठमाडौँ । ठूलो परिमाणमा लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन्। नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा युक्रेन र थाइल्याण्डका महिला रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनाएको छ।
पुष ६ गते दुबईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको र उनले ल्याएको दुई वटा सुटकेशभित्र फल्स बटम बनाई लुकाइराखेको अवस्थामा ५ केजी ६ सय ग्राम कोकिन र केही अमेरिकी डलर, थाई भाट र नेपाली रुपैयाँ बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए।
थप अनुसन्धानको सिलसिलामा कोकिनको सुटकेश लिन आएकी थाई नागरिकलाई पनि पक्राउ गरिएको उनले बताए। बरामद भएको कोकिनको अवैध बजार मूल्य १२ करोडभन्दा बढि रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।