फेरी फैलियो पेलेको निधनबारे हल्ला
पुस १४, काठमाडौँ । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थि अद्यावधिक गर्दै लेखेको छ ।
चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गाैला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।
विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् । गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ ।
तर, विभिन्न सञ्जारमाध्यम सहित सामाजिक सञ्जालमा भने उनको मृत्यु नै भएको भनेर हल्ला चलाइएको छ। तर, उनि जिवित नै रहेका छन्।
उनको मृत्युबारे हल्ला फिँजाइएको यो नै पहिलो पटक भने होइन। पछिल्ला पाँच वर्षमा पेलेको मृत्युबारे पटक पटक हल्ला फिँजाइएको अन्तरराष्ट्रिय मिडियाहरूले रिपोर्ट गरेका छन्।
त्यस्तै, गएको २४ घण्टामा भने कसैले सामाजिक सञ्जालमा अपुष्ट जानकारी राख्दा पेलेको मृत्युबारे हल्ला फैलिएको मार्काले उल्लेख गरेको छ।