टर्की भूकम्पः ९० घण्टा भग्नावशेषमा फसेकी आमा र नवजात शिशुको जिवितै उद्धार


माघ २८, काठमाडौँ । टर्कीमा भूकम्पमा भत्किएको भवनको भग्नावशेषबाट ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको जिवितै उद्धार गरिएको छ । उद्धार लगत्तै शिशु र उनकी आमालाई अस्पताल लगिएको छ।

टर्कीमा ९० घण्टाको अथक प्रयासपछि नवजात शिशु र उनकी आमाको उद्धार गरिएको समाचारमा बताइएको छ।उद्धार गरिएको शिशु जसको नाम यागिज राखिएको छ।

बच्चाको उमेर जम्मा दश दिन रहेको छ। यो घटना सामन्दग सहरको हो। यस घटनालाई स्थानीय मिडियाहरूले ‘करिश्मा’को संज्ञा दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार सोही ठाउँबाट एक व्यक्तिलाई पनि बाहिर निकालिएको थियो तर त्यो बालकको परिवारको सदस्य हो वा होइन भन्ने अझै स्पष्ट भइसकेको छैन।

विनाशकारी प्रकोपको चार दिन बितिसक्दा चिसोमा अरू पनि बाँच्न सक्ने आशा धमिलो बन्दै गएको छ। तर, भूकम्प प्रभावित टर्की र छिमेकी सिरियामा अहिले पनि राहत र उद्धार कार्य जारी छ। उद्धारमा करिब १ लाख २५ हजार मानिस भेला भएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत र सहयोगको घोषणा भइरहेको छ। तर राहत र उद्धारको काम भने सुस्त गतिमा भइरहेको स्थानीयले बताएका छन्।

सोमबार आएको विनाशकारी भूकम्पमा टर्की र सिरियासँग सीमा जोडिएका धेरै क्षेत्रमा अधिकांश भवन ध्वस्त भएका छन्। भूकम्पमा परी दुवै देशमा मर्नेको संख्या २२ हजार ३०० नाघेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?