हेरचाह केन्द्रमा वृद्धलाई दुर्व्यवहार गर्ने नेपाली नर्सलाई ८ महिना सजाय


८ चैत, मेलबर्न, अष्ट्रेलिया । शुक्रबार १७ मार्चमा पररामट्टा स्थानीय अदालतले अस्मिता पाण्डे विरुद्ध समुदायमा सेवा गर्न आठ महिनाको सघन सुधार आदेश र दुई वर्षको घरेलु हिंसाको सजाय हुने फैसला गरेको छ ।

मजिस्ट्रेट स्टीफन बर्लोले पाण्डेलाई सुधार आदेशको सजाय सुनाए । यो जेल सजायको विकल्प हो । विशेष गरी सामुदायिक काममा दुर्व्यवहार गर्नेहरूलाई यस्तो सजाय सुनाइने गरिन्छ ।

पाण्डेले ३० घण्टा सामुदायिक सेवाको काम गर्नु पर्नेछ ।

अप्रेहेन्ड डोमेस्टिक भोइलेन्स अर्डर (एडिभिओ)को प्रावधान अनुसार पाण्डेले कुनै तवरबाट पनि तीन जना पिडितलाई  भेट्न पाउने छैनन् । तर, उनले कानुन व्यवसायीको अनुमतिमा भने भेट्न पाउने एसबिएस नेपालीले उल्लेख गरेको छ ।

उनलाई पीडित बस्ने वा काम गर्ने ठाउँमा जान पनि निषेध गरिएको छ।

यस वर्षको सुरुमा ३० जनवरीमा पाण्डेले न्यु साउथ वेल्सको इपिङस्थित एस्टिया हेल्थका चार जना बासिन्दालाई कुटपिट गरेको स्वीकार गरेकी थिइन्।

प्रहरीले २६ मार्च २०२२ मा वृद्ध हेरचाह सुविधाबाट दुई बासिन्दालाई कुटपिट गरेको उजुरी प्राप्त गरेको थियो। अन्य दुई जना बासिन्दामाथि कुटपिट भएको अनुसन्धानबाट पत्ता लागेपछि प्रहरीले पाण्डेलाई २०२२ मार्च ३० मा होमबुसस्थित निवासबाट पक्राउ गरेको थियो।

पक्राउ परेको दिन एक मिडिया विज्ञप्तिमा एस्टिया हेल्थले घटनाहरू सार्वजनिक भएपछि पाण्डेलाई कामबाट बर्खास्त गरिएको पुष्टि गरेको थियो।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया(एनआएनए) का अध्यक्ष देव गुरूङले स्वास्थ्यकर्मीहरूले भविष्यमा यस्तै घटनाहरू हुन नदिन अष्ट्रेलियाको कानून र व्यवस्थालाई कडाइका साथ पालना गर्नु पर्ने बताएका छन् ।

पाण्डे स्वास्थ्य सेवा उजुरी आयोगको अन्तरिम निषेधाज्ञा (आईपीओ) अन्तर्गत ९ फेब्रुअरी २०२३ देखि लागु हुनेगरी आठ हप्ताको निलम्बनमा छिन् ।

स्वास्थ्य सेवा उजुरी आयोगको अन्तरिम निषेधाज्ञा ऐन १९९३ अन्तर्गत उनलाई कुनै व्यक्तिलाई सशुल्क वा स्वैच्छिक स्वास्थ्य सेवाहरू प्रदान गर्नबाट वञ्चित गराइएको छ ।

आयोगले यसअघि पाण्डेविरुद्ध २०२२ जुन ९ र २०२२ डिसेम्बर १९ गते आठ हप्ताको दुई अन्तरिम आदेश सार्वजनिक गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?