एडिलेडमा प्रकोप जोखिम व्यवस्थापन सम्बन्धि गोष्ठी सम्पन्न


चैत ११, मेलबर्न, अष्ट्रेलिया। एडिलेडमा “प्रकोप जोखिम व्यवस्थापनको लागि युवा र स्वयंसेवक” नामक गोष्ठी सम्पन्न भएको छ। एनआरएनए नारी निकुञ्ज र एनआरएनए युथ फोरम अष्ट्रेलियाको संयुक्त्त आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख वक्ता  डा. भरतराज पौडेलले अष्ट्रेलियामा आउन सक्ने विपदहरू र विपद अघि, विपदको बेला र विपद पछिको समयमा के कस्तो सावधानि अपनाएर क्षति कम गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए।

त्यसैगरी, विपद जोखिम न्यूनीकरण परियोजना र परियोजनाका नेपाली समुदायबाट चयन भएका तीन जना सदस्यहरुको चयन प्रक्रियाको बारेमा एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाका संयोजक मञ्जु खड्काले व्याख्या गरेकी थिइन्। उनले अष्ट्रेलियाको मल्टिकल्चर काउन्सिल संगको सहकार्यमा नेपाली भाषामा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको पनि जानकारी दिएकी थिइन्। 

यसभन्दा अघि मल्टिकल्चर काउन्सिल साउथ अष्ट्रेलियाबाट प्रतिक्षा सुब्बा, सागर श्रेष्ठ र निजम केसीले विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम लिएका थिए। उनीहरूले उक्त तालिमबाट सिकेका कुराहरू उक्त गोष्ठीमा प्रस्तुत गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?