सिड्नीमा हत्यापछि ६ वर्षीया बालिकाको शव सुटकेसमा हालेर नष्ट गर्ने व्यक्ति १० वर्षपछि रिहा हुँदै
चैत १५, मेलबर्न, अष्ट्रेलिया। एक दशकअघि सिड्नीको पश्चिममा ६ वर्षीया बालिकाको शव सुटकेसमा लुकाएर जलाएर गाड्न सहयोग गर्ने एक व्यक्तिलाई जेलमुक्त गरिएको छ।
रोबर्ट स्मिथले २०१० मा किशा वाइपर्टको मृत्युमा भूमिका खेलेको स्वीकार गर्दै दुई आरोपहरूमा दोषी स्वीकार गरेका थिए। अन्ततः लापरबाहीका कारण भएको मृत्युमा पनि उनी दोषी ठहरिएका थिए।
स्मिथकी पार्टनर र छ वर्षीया बालिकाकी आमा क्रिस्टी अब्राहम्सले सन् २०१३ मा उनको हत्या गरेको स्वीकार गरेका थिए।
अब्राहमले किशालाई जुलाई १३, २०१० मा माउन्ट ड्रुइटमा पजामा लगाउन अस्वीकार गरेको भन्दै हत्या गरेकी थिइन्। हत्यापछि स्मिथले किशाको शवलाई सुटकेसमा राखे र केही दिनसम्म त्यहाँ छोडेका थिए।
जुलाई १८ मा उनको मृत्युको पाँच दिनपछि उक्त जोडीले किशाको शवसहितको सुटकेसलाई शाल्भेको एउटा चिहानमा लगेको अनुसन्धानबाट पुष्टि भएको थियो।
त्यहाँ स्मिथले चिहान खनेर किशाको शवमा पेट्रोल खन्याएर जलाएका थिए । उनिहरूले सुटकेस भने अलि टाढा जलाएको पाइएको थियो।
अब्राहम्सले आफ्नी छोरी हराएको भन्दै अगस्ट १, २०१० मा प्रहरीसमक्ष उजुरी दिएकी थिइन्। उक्त दिनभन्दा पहिले नै किशाको हत्या भइसकेको थियो।
हत्यापछि अब्राहम्स र स्मिथले जानकारीको लागि भावनात्मक सार्वजनिक अपील समेत गरेका थिए।
त्यतिबेला उनीहरूले पुलिसलाई राती सुतेकी छोरी बिहान बेपत्ता भएको भन्दै रिपोर्ट गरेका थिए। केही महिनापछि अप्रिल २०११ मा उक्त दम्पति छोरीको हत्या अभियोगमा पक्राउ परेका थिए।
१२ वर्षको गैर-प्यारोल अवधिसहित १६ वर्षको जेल सजाय पाएका स्मिथलाई मंगलबार पेरोल दिइएको छ। उनले अझै ४ वर्षको जेल सजाय भुक्तान गर्न बाँकी रहेको छ।
ब्ल्याकटाउन र पेनरिथ स्थानीय सरकार क्षेत्रहरूबाट प्रतिबन्धित सहित जेलबाट रिहा भएपछि स्मिथ कडा निगरानी सर्तहरूमा हुनेछन्। स्मिथ अप्रिल २८ मा जेलबाट रिहा हुँदैछन्।
तर, उनकी पार्टनर अब्राहम्स भने कम्तिमा २०२७ सम्म जेलमा नै बस्नु पर्ने भएको छ।