लागुऔषधहित ७ जना पक्राउ
चैत १६, काठमाडौँ । देशका विभिन्न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागुऔषध खैरो हेरोइन २ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन्। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागुऔषध ब्राउनसुगर ८ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २३ वर्षीय विनोद श्रेष्ठ रहेका छन्।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश-१-०२-०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
सिरहाको मिर्चैया नगरपालिका(६ कटारी चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१० बस्ने २५ वर्षीय ललित कुमार राम र सोही नगरपालिका-३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन्।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।